संसदमा उठ्यो मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग

संसदमा उठ्यो मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेकी छन् । 

मंगलवार राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानविय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी हुन् । उनले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने बताइन् । उनले जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरु जनताको शासक नभई सेवक भएको बताइन् । 

सांसदहरुले विधि बनाउने भन्दै उनले विधि उल्लंघन गर्नेपनि उनै विधि बनाउनेहरु नै भएको टिप्पणी गरिन् । यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्नका लागि उनले सरकारको ध्यानाकर्षण पनि गराइन् । 

‘जनताले तिरेको करबाट सेवा, सुविधा लिने हामी जनप्रतिनिधि र मन्त्री, प्रधानमन्त्री, सरकारका सबै अंगहरु जनताका सेवक हुन् । शासन होइनन् । दुईदिन अगाडी मात्रै हो, एकजना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदाखेरी एउटा गार्डप्रति गरेको अमानविय व्यवहार एकदमै धेरै अस्वीकार्य छ । उहाँले यसमा सार्वजनिक रुपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ । तर सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’ उनले भने, ‘किनभने हामी सेवक हौँ । शासक होइनौँ । यो कुरालाई स्थापित गर्नुपर्छ । यो एकजना गार्ड र एकजना मन्त्रीको मात्रै कुरा होइन । विधि बनाउने हामी, विधि उल्लंघन गर्ने हामी, विधि उल्लंघन गर्न नदिँदा एउटा श्रमिकलाई पाँच दिन थुनामा राख भनेर थुनामा राख्ने पनि हामी ? यो भएन । यसलाई सरकारले तुरुन्तै ध्यान पु¥याओस् । र यो खालको घटना फेरि नदोहोरियोस् भनेर पनि म सरकारप्रति माग गर्न चाहन्छु । र मन्त्रीले सार्वजनिक रुपमा माफि मागुन् भनेर पनि माफी माग गर्न चाहन्छु ।’
 
राष्ट्रिय सभाका अर्का सदस्य अनिता देवकोटाले आगामी संघ र प्रदेशको निर्वाचनमा महिलाहरुलाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् । 

उनले डेंगु देशभर फैलिएकाले महामारी हुन नदिनका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने, किटनाशक औषधि छर्कने र सचेतना जगाउने काम गर्न सरकारलाई आग्रह गरिन् । उनले भनिन्– ‘नेपालको संविधानले समानुपातिक, समावेशीको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने भनेको छ । संविधानको मर्म र भावनालाई ध्यानमा राखि प्रत्यक्षतर्फ अत्याधिक महिलालाई उम्मेदवारी दिन सबै राजनीतिक दलहरुलाई सम्मानित सभाको माध्यमबाट अनुरोध गर्न चाहन्छु । डेंगुको संक्रमण अहिले ७५ जिल्लामा फैलिएको छ । यो महामारी हुनबाट रोक्न तीन तहका सरकारको ध्यान किन गएको छैन ? लामखुट्टेको लार्भा नष्ट गर्ने, किटनाशक औषधी छर्कने र सचेतना जगाउने कार्य यथाशिघ्र होस् भनि ध्यानाकर्षण गराउन चाहन्छु ।’
 
त्यस्तै, राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले सरकारी विद्यालयमा कार्यरत लेखापालहरुको सेवा, सुविधा र पारिश्रमिक उनीहरुको तह अनुसार मिलाउनका लागि सरकारसँग माग गरिन् । उनले शिक्षा क्षेत्रको विकृति र विसंगतिको अन्त्य गर्न तत्काल संघीय शिक्षा ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन् – ‘देशभरी करिव ३६ हजारको संख्यामा रहेका सरकारी विद्यालयमा कार्यरत कर्मचारीहरु छन् । सरकारी विद्यालयमा ६ हजार ४२३ जना लेखापालहरु कार्यरत छन् । लामो समयदेखि आन्दोलनमा छन् । कहिले देशभर विद्यालय पठनपाठन बन्द त, कहिले राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । कहिले शिक्षा मन्त्रालयमा भेटघाट त कहिले अर्थ मन्त्रालयमा धाइरहेका छन् । उनीहरुको तह अनुसारको सेवा, सुविधा र पारिश्रमिकको व्यवस्था मिलाउन र शिक्षा क्षेत्रमा देखिएको सम्पूर्ण विकृति र विसंगतिको अन्त्य गर्न तत्काल संघीय शिक्षा ऐन निर्माण गरी समस्या समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
 
राष्ट्रिय सभा सदस्य नन्दा चपाईँले सवारी साधनहरु अव्यवस्थित रुपमा रहेको भन्दै सवारी साधनको व्यवस्थापन गर्न आवश्यक रहेको बताइन् । उनले यसका निम्ति आवश्यक कानून निर्माण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराइन् । ‘अव्यवस्थित अवस्थामा रहेका सवारी साधनहरुको व्यवस्थापन गर्न अत्यन्त आवश्यक देखिएको छ । काठमाडौं उपत्यकामा सवारी साधनहरु अव्यवस्थित रहेको देखिन्छ । यस विषयमा दिगो विकास तथा सुशासन समितिले उपसमिति गठन गरी पाँचवटा बैठक बसेको र समस्याको बारेमा गम्भिर छलफल गरी अव्यवस्थित अवस्थामा रहेका सवारी साधनको व्यवस्थापन गर्नको लागि कानूनको अभाव रहेको निस्कर्ष निकाल्दै नेपाल सरकारलाई अनुरोध गर्ने व्यहोरा जानकारी गराउन चाहन्छु । समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले भनिन् । 
 
राष्ट्रिय सभाको बैठकको जारी छ । 
 

Logo