सिराहामा एमालेको आयोजनामा गरिएको आमसभा तथा पार्टी प्रवेश कार्यक्रम वर्षाले बिथोलिएको छ।
सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित श्री जनता नमुना माध्यमिक विद्यालयमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रम वर्षाका कारण केही छिनमै स्थगित भएको थियो । एमाले अध्यक्ष ओली सम्बोधन सकेर औपचारिक मन्तव्य सुरु गर्दा वर्षा सुरु भएको थियो। वर्षाका कारण मन्तव्य बीचमै रोकेर ओली काठमाडौं फर्केका छन् ।
विद्यालयको पठनपाठन बन्द गराएर एमाले सिरहाले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा एमाले अध्यक्ष ओली हेलिकप्टरबाट चोहर्वा आएका थिए। उनीहरूलाई एमाले मधेस प्रदेशका सहइन्चार्ज तथा पूर्व मन्त्री लीलानाथ श्रेष्ठ र रघुवीर महासेठले एक कुन्ट्ल पाँच किलोको माला लगाइ स्वागत गरेका थिए ।
अध्यक्ष ओलीले कार्यक्रममा पुगेर लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपाका नेता रामबल्लभ साह सहितका नेता–कार्यकर्तालाई एमाले पार्टी प्रवेश गराएपछि मौसम प्रतिकूल बनेको थियो। हतार-हतार सहभागीलाई सम्बोधन गर्न उभिएका ओली संसदको पाँच वर्षे कार्यकालको अन्तिम दिन शनिबार भएको बताउँदै लोकतन्त्र, सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताका लागि नेकपा एमालेले असाधारण बलिदानी दिएको दाबी गरे । विकास निर्माण र पुनःनिर्माणको कामको चर्चा गर्दै उनले हुलाकी राजमार्ग, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कामको नेतृत्व एमाले सरकारको कालमा भएको दाबी गरे ।
शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षालगायतका काममा एमालेले असाधारण योगदान गरेको बताउँदै गर्दा वर्षा सुरु भएको थियो। त्यसपछि ओलीको मन्तव्य रोकियो । र, सुरक्षाकर्मीले उनलाई गाडीमा चढाएर हेलिकप्टर पार्क गरिएको स्थलसम्म पुर्याएको थियो ।
झरी परिरहँदा ओली हेलिकप्टर चढेर काठमाडौं उडेपछि कार्यक्रम बिथोलिएको थियो । कार्यक्रममा एमाले नेता प्रमुख साह, रघुवीर महासेठ, लीलानाथ श्रेष्ठ र ज्वाला साह लगायत सहभागी थिए ।































प्रतिक्रिया