जबराकी छोरीको आग्रहः ‘सरकारले हामीलाई नजरबन्दमा राख्यो, जीवन रक्षाका लागि साथ दिनुस्’

जबराकी छोरीको आग्रहः ‘सरकारले हामीलाई नजरबन्दमा राख्यो, जीवन रक्षाका लागि साथ दिनुस्’

केन्द्रबिन्दु
0
Shares

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधीले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गरेकी छन् । 

जबराकी छोरी सुनिधिले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि जनताले साथ दिनुपर्ने बताएकी हुन् । आईतबार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै जनताको साथ चाहिएको बताइन् ।  

देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाई दिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको उनले बताइन् । उनले भावविह्वल हुँदै स्कुुलमा रहेको बच्चा ल्याउने नदिने, औंषधि ल्याउन पनि नदिने गरी प्रहरीहरु सरकारले परिचालन गरेको दुःखेसो पोखिन् ।  

‘हामीलाई बाहिर निस्कन पनि दिईराखेको छैन । बच्चाहरु स्कुलमा लिन जानुपर्छ । एउटा बच्चा लिई आईराखेको बेलामा उसलाई पनि समातेर लगेर थुनिदियो । हामीले पनि बाँच्न पाउनु प-यो नि । एकदमै अराजकताको पनि पराकाष्ट छ । अव के कारणले यिनीहरुले गरिराख्या छ भन्ने कुरा हामीले पनि बुझिराख्या छैन । यिनीहरुलाई चाँही एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि यस्तो अन्याय, अत्याचार भएको छ । अब यो सबै कुरा चाँही नेपाली जनताले बुझिदिनु प-यो । हामी यही टेलिभिजनबाट, मिडियाबाट आह्वान गर्न चाहन्छौं–सबजनालाई एकदमै देशको माया छ, यो अदालतको माया छ भने सबजना उठेर आई दिनुप-यो ।’ उनले भनिन्, ‘हामीहरुलाई यस्तो बेलामा नजरबन्दमै राखिएको छ । हामीबाट यहाँबाट बाहिर निस्कन र भित्र जाने हाम्रो कन्डिसन छैन । यो कुरा चाँही सबै जनाले बुझिदिनु प-यो । म यही भन्न चाहन्छु । हामी १० बजे अदालत जाने भनेपछि पुलिसहरु एकदमै आक्रामक शैलीमा हाम्रो निवासको बाहिर जम्मा हुनु भएको छ । उहाँहरुले हामीलाई बाहिर निस्कन पनि दिईराख्नु भएको छैन ।’ 

उनले थपिन्- ‘अहिलेको सरकारले एकदमै हामीलाई अन्याय, अत्याचारै गरेको छ । यो गठबन्धनको सरकारले हामीमाथि अत्याचारै गरेको छ । एउटा ठूलो अपराधीले कुनै मान्छेलाई नै मारेर लुकाएको जस्तो किसिमको व्यवहार प्रहरीले हामीमाथि गरेको छ । सरकार हाम्रो विरुद्धमा लागेको छ । हाम्रो त हातखुट्टा नै बाँधी राखेको अवस्था छ । यस्तो बेलामा हामी के गर्न सक्छौं ? हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनताहरुसँग हो । हामीले बिन्ति गरेका छौं उहाँहरुसँग । उहाँहरुले के सही हो, के गलत हो ? छुट्टयाएर, बुझेर सबैजना जम्मा भएर आई दिनु प-यो । अव घरमा बसेर सोसल मिडिया हेरेर म्यासेन्जरमा स्क्रूल गरेर, कमेन्ट गरेर मात्रै हुँदैन । यदि उहाँहरुलाई दशेको माया छ भने, अदालतको माया छ भने हामीलाई सहयोग गर्नु प‍-यो ।’

सुनिधीका अनुसार स्कुलको बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच जबरा अस्वस्थ भएको बुझिएको छ । छोरी सुनिधीका अनुसार उनलाई सन्चो छैन । प्रहरीले जबराको उपचारका लागि औषधि ल्याउन समेत नदिएको बताइएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधिसभामा लगाइएको महाअभियोग पुष्टि नभएको भन्दै आज (आईतबार) बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गरेका थिए । तर सरकारले सुरक्षाकर्मी परिचालन गरेर उनलाई जान दिएन । 

Skip This
Skip This
Logo