नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं.१ बाट निर्वाचित सांसदसमेत रहेका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेललाई छोडिदिने बताएका हुन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनमा भागबन्डा मिलाउनुपर्ने कारणले गर्दा सो क्षेत्र आफुले छोड्न परेको बताए । उनले आफू बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने पनि बताए ।
‘म तनहुँ जिल्ला १ नम्बर क्षेत्रको निर्वाचित माननीय । तर अहिले गठबन्धनको कारणले, गठबन्धन र मेरो पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीको कारणले, गठबन्धनमा मिलाउनुपर्ने । जसलाई मैले २०७४ साल मंसिर २१ गते पराजित गरेको थिएँ, नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेललाई । अब उहाँलाई नै छोडेर सायद पार्टीले मलाई उपयुक्त ठाउँमा अहिलेसम्म कुरा हुँदा मधेस प्रदेशको बारा ४ नम्बर क्षेत्रमा चुनाव लड्नुपर्ला कि भनेर आदरणिय गठबन्धनका नेताहरुले भन्नुभएको छ ।’ उनले भने ।
उनले थपे-‘यदी सम्भव छ भने तनहुँ जिल्ला १ नम्बर क्षेत्रको जनताले अहिले पनि नेकपा (एकीकृत समाजवादी) लाई खोजेको छ । मलाई खोजेको छ । अब होइन यही कारणले तनहुँ १ नम्बर क्षेत्रकै कारणले मात्रै गठबन्धन नै भत्किन्छ या एकदमै ठूलो समस्या आउँछ भने म एउटा पार्टीको इमान्दार सिपाही हुँ । पार्टीले गरेको निर्देशन, पार्टीले गरेको निर्णय, पार्टीले भनेको मान्ने एउटा इमान्दार सिपाही भएको कारणले गर्दाखेरी मैले नेताहरुलाई अप्ठ्यारो नपार्ने गरी तपाईहरुले उपयुक्त ठाउँमा मलाई खटाउनुस् ।’
नेता श्रेष्ठले देशको जुनसुकै निर्वाचन क्षेत्रमा पार्टीले टिकट दिएपनि निर्वाचन जित्ने आँट र शाहस लिएर अगाडि बढेको बताए ।





























प्रतिक्रिया