‘आज फेरि नेपालको लोकतन्त्रमा एउटा कालो बादल मडारिएको छ’ -पूर्वराष्ट्रपति यादव

‘आज फेरि नेपालको लोकतन्त्रमा एउटा कालो बादल मडारिएको छ’ -पूर्वराष्ट्रपति यादव

केन्द्रबिन्दु
0
Shares

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उलंघन गरेको आरोप लगाएका छन् । 

राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणिकरण नगरेर संविधानको उलंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाई थियो । बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा विघटन गरेर पहिलो चोटी संविधान उलंघन गरेकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरेर फेरी संविधान उलंघन गरेको भन्दै आपत्ति जनाए । 

दोस्रो पटक पनि संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको पूर्व राष्ट्रपति यादवले पटकपटक दोहो-याए । उनले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक मुलुकहरुको परम्परा र संविधानविद् तथा कानुनविद्हरुसँग परामर्श गरेर सो विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे । 

‘आज गणतान्त्रिक कालमा प्रधानमन्त्रीबाट २/२ चोटी सदन भंग भयो । र, त्यसलाई हटाउन दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, यही मिडिया र सम्पूर्ण नेपाली जनताको प्रयासले संविधान ट्रयाकमा ल्याउने काम भएको थियो । आज दुई वटै सदनबाट पास भएर विधेयक गएको थियो । त्यसलाई सम्माननीय राष्ट्रपतिजीले त्यो संस्थाको मर्यादा, त्यो संस्थाको गरिमा, त्यो संस्थाको कर्तव्य बुझेर उहाँले काम गर्नुपर्ने थियो । तर, आज उहाँले संविधानको उलंघन फेरी गर्नु भएको छ ।’ उनले भने, ‘संविधान फेरी एकचोटी उलंघन भएको छ । अव त्यसो हुन नदिन नेपाली जनता सजग हुनुपर्दछ । त्यसले गर्दाखेरी म भन्न चाहन्छु । धेरै भन्न चाहन्न कि संविधान फेरी उलंघन भएको छ । २/२ चोटी लोअर हाउस र अपर हाउसबाट पास भएर सम्माननीय राष्ट्रपतिबाट पहिलो चोटी सन्देशसहित फर्काउने काम भयो । तर, दोस्रो चोटी फर्काउन मिल्ने अवस्था नै थिएन । आज फेरि नेपालको लोकतन्त्रमा एउटा कालो बादल मडारिएको  छ ।’  

पूर्वराष्ट्रपति यादवले यो कदम नसच्चिए फेरी मुलुकमा प्रतिगमन हुने बताए । ‘म सम्पूर्ण नेपाली जनतालाई भन्न चाहन्छु–यो संविधानलाई बचाएर लैजानु पर्दछ । यसो गर्न सकिएन भने हामी फेरी प्रतिगमनमा जान्छौं ।’ उनले भने । 

Skip This
Skip This
Logo