नेपाली कांग्रेसको शेखर कोइराला पक्षले दसैंको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । बिहीबार विहान काठमाडौंको बत्तीसपुतलीमा कोइराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रमा पार्टी महामन्त्री गगनकुमार थापालगायतका नेताहरु उपस्थित थिए ।
त्यसक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन् । उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा काँग्रेस भित्रै सही मूल्यांक नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए ।
‘गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ । गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निस्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण दायित्व हो । गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामी भित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ ।’ उनले भने, ‘अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ । अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा गइरहेको एकातिर भने अर्कोतिर छिमेकीहरुको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ । यसलाई बचाउन सक्ने तागत भएको पार्टी नेपाली काँग्रेस नै हो ।’
काँग्रेस नेता खेमराज केसीले समानुपातिक तर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनमए । उनले अझैपनि सूची संशोधन गरी समानरुपमा टिकट वितरण गर्नसके नेपाली काँग्रेसले आगामी निर्वाचनबाट दुई तिहाईको सरकार बनाउन सम्भव रहेको बताए । पार्टीमा नातागाता र आफन्तवादलाई हेर्दा न्यायोचित रुपमा टिकट वितरण हुन नसकेको उनको भनाई छ ।
‘दुई तिहाई आउन नेपाली काँग्रेसले अत्यन्त मेहनत गर्नुपर्छ, टिकट वितरण गर्ने प्रणालीमा निष्ठावान, त्यागी र ज्येष्ठ सदस्यहरु, जसले पार्टीमा विशिष्ट योगदान गरेका छन्, ति मानिसलाई टिकट दिएको खण्डमा यो सम्भव छ । कतिपय कुरा पार्टीमा आफ्नो नातागोता हेर्ने गरिन्छ, त्यो पद्धतिलाई त्यागेर, एकनासले गहन रुपमा वितरण गर्नुपर्छ ।’ उनले भने, ‘न्यायोचित रुपमा टिकट वितरण भएको खण्डमा नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको रुपमा सरकार बन्न सक्दछ । न्यायोचित रुपमा संस्थापन र संस्थापन इतर पक्षले अत्यन्त संयम भएर एकै ठाउँमा बसेर टिकट वितरण गरेको खण्डमा यो सम्भव छ, तर न्यायोचित टिकट वितरण नभएको खण्डमा त्यो परिस्थिति पनि नआउला भन्न सकिँदैन ।’
त्यस्तै, नेता धर्म परियारले नेपाली काँग्रेसले केन्द्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको बताए । उनले नेपाली काँग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझैपनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे ।
उनले टकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आगामी निर्वाचनमा काँग्रेसले धेरै सिट जित्न नसक्ने बताए । ‘अहिले शेरबहादुर देउवाज्यूको प्यानलमा विश्वकर्मा मात्रै आएको अवस्था छ । दुई जना पुरुष, दुई जना महिला विश्वकर्मा मात्रै रहँदा, दलितभित्र पनि समावेशी नहुँदा अहिले प्रधानमन्त्रीको क्वार्टरमा र सानेपामा छलफल चल्दा हामीजस्ताको आवाज त्यहाँ पुगेको छैन, पार्टी बिग्रिरहेको छ, भत्किएको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा संसद विघटन गर्नुभयो, नेपाली काँग्रेसको गठबन्धनको सरकार चाहियो भनेर भन्नुहुन्छ । तर केन्द्रको नीति, निर्देशन हेर्दा समानुपातिकको सिफारिस गठबन्धन हराउने षड्यन्त्र हुनुहुन्छ ।’ उनले भने,‘केन्द्रमा केपी ओलीलाई गाली गर्ने तर जिल्ला जिल्लामा गएर नेकपा एमालेलाई हराउन सक्ने तागत छ जस्तो लाग्दैन । हामीले सच्चिनुपर्छ । टिकट दिँदा समानुपातिक हुनुपर्छ । प्रधानमन्त्रीले आफ्नो पत्नीलाई समानुपातिकमा राख्ने, गृहमन्त्रीले आफ्नो पत्नीलाई राख्ने, उहाँहरुको त्याग, मेहेनत होला तर यसले राम्रो सन्देश दिँदैन । राजाको बिरोध गरिरहँदा काँग्रेस भित्रै राजा त भएका होइनन् ? नेपाली काँग्रेस २५ सिटमा सिमित हुने त होइन, त्यसकारण नेता सच्चिनुपर्छ । केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर त्यस्तो नियतका साथ उहाँहरु कुर्सीमा बस्नुहुन्छ भने त्यसको बिरोधमा उत्रिनुपर्छ ।’
काँग्रेसका नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिएको आरोप लगाए । उनले यसरी पार्टी भित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैर जिम्मेवारी भएको बताए । उनले पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए बिद्रोहको विकल्प नभएको बताए । उनले पार्टी भित्रै निरंकुश र सामन्ती व्यवहार भएकाले आफूहरुले बिरोध गर्नुपरेको बताए ।
पाण्डेले संस्थापन पक्षले नेकपा माओवादी लगायतका गठबन्धनका दलहरुसँग मिलेर आफ्नो पार्टी भित्रका नेताहरुलाई किनारा लगाइ राजनीतिक हत्या गर्ने प्रपञ्च गरेको आरोप लगाए । उनले सट जित्नका लागि र सरकारमा पुग्नका लागि मात्रै प्राविधिक गठबन्धन हुनुले आगामी निर्वाचनमा राम्रो नतिजा नल्याउने बताए ।
त्यस्तै काँग्रेस नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भएपनि पार्टी भित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताए । उनले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताए ।
उनले भने, ‘गठबन्धन गरेर नै चुनावमा जाने निर्णयले गठबन्धनले चुनाव जित्ने आधार छ । गठबन्धनसँग जनमत छ । राजनीति भनेको जनताको जीवनलाई बदल्ने माध्यम हो । मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै राजनीति होइन । हामीले न्यायोचित अवसरको वितरणका निम्ति हामीले पार्टीलाई भनेका हौँ । त्यही अन्तर्गत यो चियापन हो । सभापति ज्युले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्रीको बाटो हेरिरहेका छौँ । भएन भने बाँकी निर्णय हुन्छ । एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छ ।’
त्यस्तै काँग्रेस नेता अजयबाबु शिवाकोटीले समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि बिरोधमा गएको दाबी गरे । उनले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताए । गठबन्धन अघि बढाउन टिकट वितरणमा संशोधन हुनुपर्ने उनको भनाई छ ।





























प्रतिक्रिया