सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन दुई तिहाई बहुमत ल्याउने लक्ष्यसहित आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको बताएका छन् ।
आईतबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा गर्दै उपसभापति खड्काले संविधानको रक्षा, मुलुकको स्थिरता र समृद्धि नै गठबन्धनको चुनावी एजेण्डा हुने पनि स्पष्ट पारे । उनले मुलुकको कुनाकुनासँग निर्वाचनको प्रचार अभियानले तीव्रता पाएको उल्लेख गर्दै गठबन्धनको पक्षमा जनमत ल्याउने गरी समर्पित भएर क्रियाशील हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
लोकतन्त्रको रक्षाका लागि, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि र जनताको समृद्धिका लागि आफूहरुले विचार मिल्ने पार्टीहरुसँग सहकार्य गरेर चुनावी गठबन्धन गर्नु परेको उनको भनाई थियो ।
उनले भने, ‘एजेण्डा मिल्ने दलहरुलाई साथमा लिएर आगामी निर्वाचनमार्फत् दुई तिहाई बहुमतको लक्ष्यसहित हामीले यो आम निर्वाचनलाई सारमा भन्दा संविधानको रक्षा, स्थिरता र मुलुकको समृद्धिको लागि हामी यो निर्वाचनमा सत्तारुढ दलहरु चुनावी गठबन्धन गरेर अगाडि बढदैछौं । र, जनताको बीचमा हामीहरु यीनै कुराहरुलाई लिएर जनतासँग मत माग्न हिँडदैछौं । देशभर चुनावको तापक्रम बढिरहेको छ । म आग्रह गर्नु चाहन्छु–गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनका लागि समर्पित भएर लाग्न नेपाली काँग्रेसका नेता, कार्यकतालाई अनुरोध गर्दछु ।’
उपसभापति खड्काले सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्न, संविधानलाई आवश्यक्ता अनुसार संशोधन गर्दै अगाडि बढन पनि काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध राजनीतिक दलहरुलाई साथमा लिएर निर्वाचनमा जानु परेको बताए । उनले भने, ‘हामीले सन्तुलित परराष्ट्र नीतिलाई अगाडि बढाउनु पर्छ । ठूला छिमेकी मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलनमा ल्याउनु छ । जनतालाई समृद्ध बनाउनु छ । त्यसको लागि पनि आगामी निर्वाचनमा जनताले सत्तारुढ गठबन्धनलाई चुनावमा विजयी गराउनुपर्ने हुन्छ ।’































प्रतिक्रिया