नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा -२ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने बताएका छन् ।
बुधवार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले गोरखा २ मा अध्यक्ष दाहालको जित सुनिश्चित भएको बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले दाहाल एउटै निर्वाचन क्षेत्र बनाउने र त्यसमा डुबिरहने संसदवादको मान्यतालाई लागू नगर्नका लागि हरेक निर्वाचनमा फरकफरक क्षेत्रबाट उठेको पनि बताए ।
उनले भने– ‘नेपालको राजनीतिमा प्रचण्ड मात्रै त्यस्तो नेता हुनुहुन्छ, जसले पुँजीवादी संसदवादको एउटा मान्यता की एउटै निर्वाचन क्षेत्र बनाउने र त्यहीँ डुबिरहने । त्यसलाई व्यवहारमा लागू नगर्ने । त्यो बाटो नहिँड्ने एउटै मात्र नेता हुनुहुन्छ प्रचण्ड । उहाँ काठमाडौं, सिरहा, काठमाडौं चितवन लड्नुभयो । संसदवादको दलदलबाट माथि उठ्नको लागि एउटै निर्वाचन क्षेत्रमा केन्द्रित नहुने सोचको साथ उहाँ बाहिर जान चाहनुहुन्थ्यो । त्यस अन्तर्गत अहिले गोरखा जानुभएको छ । अब हाम्रो अहिलेको कार्यभार सामाजिक न्यायसहितको समृद्धि हो भने त्यो समृद्धिको मोडेल र समाजवादको मोडेल तयार गर्ने ठाउँको उपयुक्तता पनि गोरखा नै छ भनेर गोरखाबाट समाजवादी क्रान्तिको नयाँ मोडेलको शुरुवात गर्नको निम्ति, समाजवादको भ्रुण तयार गर्नका निम्ति, समाजवादको नमूना थलो तयार गर्नका निम्ति उहाँले गोरखा छान्नुभयो । गोरखामा उहाँको विजय सुनिश्चित नै छ । तर कति मतले जित्नुहुन्छ भन्ने मात्रै बाँकी छ । हामी गोर्खालीहरु चाहन्छौँ, नेपालको अहिलेको निर्वाचनको इतिहासमा नै सबैभन्दा बढी मतान्तरले जित्नेगरी हामी प्रचण्डलाई त्यहाँबाट विजय गराउन चाहन्छौँ । यो हाम्रो प्रतिवद्धता हो ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीमा धेरै गुट तथा उपगुट भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेप । उनले पार्टीभित्र आफू र अध्यक्ष दाहालबीचमा विभाजित गराउन खोजिएको भन्दै आफूहरु असाधारण एकतामा रहेको स्पष्ट पारे ।
उनले भने ‘धेरै गुट भोगिएको छ पार्टीमा । धेरै भयो गुट, उपगुट । पार्टी कहाँ छ खोज्नुपर्ने कहिले कहिले । तर एउटा कुरा आज म तपाईहरुलाई भन्छु, अध्यक्ष र वरिष्ठ उपाध्यक्षलाई विभाजित गर्ने । कहिले अध्यक्षको पक्षधर भनेर वरिष्ठ उपाध्यक्षको गाली गर्ने । कहिले वरिष्ठ उपाध्यक्षको पक्षधर भनेर अध्यक्षलाई गाली गर्ने दिन गए । हामी असाधारण एकतामा छौँ । त्यस प्रकारको जालिझेली काममा नलाग्नु होला । बाँकी जति गुट, उपगुट छन् ती पनि हामी अन्त्य गर्न सबै सिनियर कमरेडसँग वहस गर्दैछौँ । नत्रभने कसरी पार्टी बन्छ ? मेरो पनि नेता, तपाईहरु सबैको नेता अहिले अध्यक्ष प्रचण्ड नै हो । त्यहीँ केन्द्रीत र एकिकृत हुने हो । तर अध्यक्ष प्रचण्डलाई नेता मान्न वरिष्ठ उपाध्यक्षको बिरोध गर्नुपर्छ भन्ने प्रवृत्ति पनि घातक हो । अध्यक्ष मुल नेता हो । अध्यक्ष पछिको नेता वरिष्ठ उपाध्यक्ष नै हो । दुईवटा नेतृत्व मिलेर पदाधिकारीहरु एकतावद्ध गरेर, स्थायी कमिटी पनि एकतावद्ध भएर यो पार्टीलाई रुपान्तरण र पुनर्गठन गरिन्छ ।’
श्रेष्ठले चार पार्टीको गठबन्धन भएपनि नेपाली काँग्रेसभित्रको गुट उपगुटका कारण ६ पार्टीको गठबन्धनजस्तो भएको टिप्पणी गरे । काँग्रेसभित्र शेरबहादुर देउवाको अलावा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोईरालासँग पनि छलफल गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
उनले भने– ‘यो गठबन्धनको आफ्नै सीमा र जटिलता छन् । कसले बुझेको छैन र ? कांग्रेस काँग्रेस नै हो । हामी क्रान्तिकारी कम्युनिष्ट हौँ । कम्युनिष्ट भित्रै पनि संघीयता बिरोधी शक्तिहरु पनि हुनुहुन्छ । हाम्रो विचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रम सबै मिलेको मोर्चा त होइन नि त्यो । संविधान विरोधी प्रतिगामी कदमलाई असफल पार्न जम्मा भएका शक्तिहरु अहिलेको परिस्थितिको कारणले संविधान र लोकतन्त्रको रक्षाको आवश्यकता अहिल्यै पनि महशुस भएर एकतावद्ध भएर जानुपरेको स्थिति छ । त्यही गठबन्धन अहिले पनि निर्वाचनमा जाँदैछ । कहिलेकाहीँ यो चार पार्टीको अहिलेको गठबन्धन चार पार्टी होइन छ पार्टीजस्तो लाग्छ हामीलाई कहिलेकाहीँ । चुनावको सिट तालमेलको बारेमा महिनौँ छलफल गर्नुप¥यो । छलफलबाट सहमति गरेको पनि कतिपय लागू गर्न समस्या प¥यो । किनभने काँग्रेस एउटा पार्टी होइन कहिलेकाहीँ हामीलाई तीन वटा पार्टी लाग्छ । त्यसकारण छ पार्टीसँग वार्ता हुन्छ क्या हाम्रो त्यहाँ । शेरबहादुरजी भन्नुहुन्छ कहिलेकाहीँ मैले भनेर हुन्न क्या यो रामचन्द्रजीलाई भन्नुपर्छ । त्यसपछि अर्कोपटक आउँछ । यो शेखर र गगनलाई भन्नुपर्छ क्या उहाँहरुसँग कुरा गर्नुस् भन्छ । एउटा पार्टीसँग कुरा गरेर धर छैन काँग्रेसलाई । तैपनि खुशीको कुरा के भने अन्ततः आधारभुत रुपमा तालमेलको सिट बाँडफाँटमा र अहिले निर्वाचनमा विजय अभियानमा अगाडी बढ्ने कुरा मुलभुतरुपमा सहमति हासिल गर्न सफल भइएको छ ।’





























प्रतिक्रिया