नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरु अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताए ।
अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे । उनले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताए ।
उनले भने, ‘पहिलो संविधान सभाबाट जुन एउटा गठबन्धनको सरकार बन्यो, त्यसले पनि ५ वर्ष पूरा गर्न सकेन । बरु उल्टै हिजो संघीय लाकतान्त्रिक गणतन्त्रका निम्ति लडेका, लागेका हाम्रा कतिपय साथीहरुको मतिभ्रष्ट भएर भनौँ, विभिन्न शक्तिहरुको चलखेलको कारणले भनौँ फेरि त्यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई धराशायी पार्ने खालका कामहरु भए । त्यसैलाई यो प्रतिगमन बिरोधी संघर्ष भनेर फेरि यो प्रतिगमनलाई रोक्नको निम्ति हामी एक ठाउँमा आयौँ । त्यही क्रममा यो वाम र लोकतान्त्रिक गठबन्धन हामीले निर्माण गरेको हो । अहिलेको निर्वाचनमा पनि यो गठबन्धन बनाउनुको अर्थ के हो भने २००७ सालदेखि लडेर ल्याएको लोकतन्त्रलाई कुनैपनि हालतमा, कुनैपनि बहानामा प्रतिगमनतिर हामी लैजान दिँदैनौँ । यसको हामी रक्षा गर्छौँ । यो चुनावको पहिलो मुद्दा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु हो । यो निर्वाचनले प्रतिगमनकारी शक्तिहरु विभिन्न बहानामा जुर्मुराइरहेका छन्, हिजो पराजित भएका सामन्ति शक्तिहरु विभिन्न ढंगले चलखेल गरेर यो व्यवस्था उल्ट्याउन लागेका प्रतिगमन शक्तिहरु तिनलाई निस्तेज र पराजित गर्छौं की फेरि पनि हामी आपसमा लडेर तिनै शक्तिलाई अघि बढाउँछौँ यो एउटा चुनौती हो । त्यसैले यो अग्रगमनकारी मोर्चाले जित्नैपर्छ । यसले हार्नु भनेको २००७ साल देखिको लडेर ल्याएको लोकतन्त्र धरापमा पर्नु हो । नेपालको राजधानी काठमाडौं नेपालको राजनीतिको ५० औं वर्षदेखि निर्णय गर्ने दिशा कता जान्छ, त्यो निर्णय काठमाडौंले गर्ने गरेको छ । हामीबाट पनि विगतमा केही कमजोरी भए । लोकतन्त्र भनेको सिक्दै जाने हो । हामीबाट पनि केही मानवीय कमजोरी भएकै हो । तर त्यसको बहानामा यसलाई उल्ट्याउने हर्कत सह्य हुन सक्दैन । देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरुमा निराशा छ, त्यसलाई हामीले सम्बोधन गर्नैपर्छ ।’
अध्यक्ष भट्टराईले आगामी निर्वाचन गठबन्धन दललाई कुनैपनि हालतमा जिताउनै पर्ने भन्दै देशका लागि आगामी ५ वर्ष स्थिरता र असन्तोषलाई पूरा गर्ने समय भएको बताए । उनले विगतका कमजोरीलाई आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको बताए ।
उनले भने, ‘यो निर्वाचनलाई यो गठबन्धनलाई हामीले कुनैपनि हालतमा जिताउनै पर्छ । यो गठबन्धनलाई हामीले यसपटक जिताएर ५ वर्षको एउटा स्थिर सरकार दिने ग्यारेन्टी गर्नुपर्छ । यो गरेको खण्डमा काँग्रेस र वामपन्थी भित्र जुन असन्तुष्टि छन्, त्यसलाई पनि सम्बोधन गरेर जानसक्छौँ । हामीले निर्वाचनमा राम्रो प्रदर्शन गर्न सकेनौँ भने आफ्ना आफ्ना स्वार्थ टक्करका कारणले भने त्यसपछि पनि विगतको जुन कटु अनुभव भयो, दुई तिहाई नजिकको बहुमत भएर पनि ५ वर्ष सरकार चलाउन नसक्ने स्थिति देखाप-यो । हामीले पनि त्यही गति दोहा-याउने हो भने जनताले हामीलाई विश्वास गर्दैनन् । अहिले प्रतिगमनको नेतृत्व गरिरहेको जुन शक्ति छ, त्यसले नेपालको वामपन्थी आन्दोलनको मुलधार पुष्पलालहरुले नेतृत्व गरेको जुन धार हो, त्यो भन्दा विपरित सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेका जुन शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुन्दैछन्, त्यो अत्यन्त घातक छ । हामीले त्यो खतराबाट बच्नुपर्छ । पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय प्रचण्ड र बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त छ ।’





























प्रतिक्रिया