‘पार्टीका काेही मर्दा झण्डा ओढाउने मान्छे नपाइने राप्रपा अहिले देशकै निर्णायक शक्ति’ -लिङ्देन

‘पार्टीका काेही मर्दा झण्डा ओढाउने मान्छे नपाइने राप्रपा अहिले देशकै निर्णायक शक्ति’ -लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दावी गरेका छन् । 

अध्यक्ष लिङदेनले सो पदमा लागि कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर आफूहरुले चयन नगरेको जिकीर समेत गरे । तिहारसहितको चाडपर्वको अवसर पारेर शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका हुन् । 

अध्यक्ष लिङदेनले सबैलाई सन्तुलन मिलाएर समानुपातिकतर्फको उम्मेदवार समावेश गरिएको उल्लेख गर्दै सबैलाई न्याय गरेर जान आफ्नो पार्टी मात्रै सक्षम रहेको बताए । उनले एउटा पद एकै व्यक्तिले पाउने भएकाले अर्को व्यक्तिले पाउने अवस्था नरहेको बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै उनीहरुको पनि पालो आउने आश्वासन समेत दिए ।  

‘साथीहरु कसको नाम समानुपातिकमा प-यो, परेन ? कसको नाम लेखियो, लेखिएन ? यतातिर अल्झेको देख्छु । अनुहार अध्यारो लगाएको देख्छु । हिजोअस्तीको कुरा सम्झनुस् । अघिल्लो मंसीर १०/११ महिनाको अघि सम्झनुहोस् । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव जित्ने कुरा होइन् राष्ट्रिय प्रजातन्त्र पार्टीका मान्छे मर्दा मलामी नपाउने अवस्था थियो । पार्टीको झण्डा ओढाउने मान्छे नपाइएला जस्तो थियो । तपाईले सांसदको कल्पना गर्नु भएको थियो ? देशको पहिलो पार्टी हुन्छ भनेर कल्पना गर्नु भएको थियो ? आज एउटा नयाँ परिस्थिति बनेको छ ।’ उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले नै देशमा निर्णायक शक्तिको रुपमा देखा परिसक्यो । मैले अघि भनेजस्तो अव राष्ट्रिय प्रजातन्त्र पार्टीको गति यसरी अघि बढी सक्यो कि अव रोक्छु भनेर कसैले कल्पना गर्न सक्दैन । यो गतिलाई कसैले रोक्न सक्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूराना कार्यकर्ताहरु हौं भन्ने त झन गौरवका साथ अघि बढ्नु पर्दछ ।’

उनले अगाडि थपे, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै एउटा त्यस्तो पार्टी हो, जसले समानुपातिक पद कसैलाई बेचेको छैन । कसैलाई नातागोता भनेर राखेको छैन । सबै प्रोफाईल पल्टाएर हेरे हुन्छ । कोही कसैको नातेदार भएको कारणले त्यहाँ परेको छैन । कोही कसैको नजिक र टाढाको आधारमा परेको छैन । हामीले ८२ वर्षको पशुपतिशमेशर राणादेखि लिएर ३० वर्षका बिना लामा, कुमारी स्याङतानजस्ता सबैलाई सन्तुलन मिलाएर राखेका छौं । जसले आफ्नो ठाउँमा चुनावमा भोट ल्यायो, जसले पार्टीलाई राम्रो योगदान ग¥यो । जसले भविष्यमा गर्न सक्छ । यो चोटी चुनाव जितेपछि फेरी अर्को चोटी प्रत्यक्षमा उठन सक्छ । त्यो सबै चिजलाई हेरेर, सन्तुलन मिलाएर हामीले राखेका छौं । त्यो क्रममा त्यत्तिकैको अर्को साथ पर्न सकेन होला । एउटा मात्रै राख्न पाईने ठाउँमा अर्को परेन होला । उसको पनि पालो आईहाल्छ ।’

Logo