‘निर्वाचनपछि पनि गठबन्धन कायम रहन्छ भनेर अहिल्यै भन्न सकिन्न’-महासचिव भुसाल

‘निर्वाचनपछि पनि गठबन्धन कायम रहन्छ भनेर अहिल्यै भन्न सकिन्न’-महासचिव भुसाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि पनि सत्तारुढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्न नसकिने बताएका छन् । 

सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो टिप्पणी गरेका हुन् । उनले सत्तारुढ गठबन्धन निर्वाचनपछि पनि कायमै रह्यो भने आफूहरुले चुनावी घोषणा पत्रमा सार्वजनिक गरेको कुरा त्यही भित्र रहेर कार्यान्वयन गर्ने र नरहे बाहिर बसेर पनि जनताको प्रतिनिधिको रुपमा त्यसलाई कार्यान्वयनका लागि पहल गरिरहने प्रतिवद्धता समेत व्यक्त गरे । 

गठबन्धन यही रहने र आफ्नो पार्टी पनि सरकारमा जाने परिस्थिति बन्यो भने पार्टीको नीति, कार्यक्रम र चुनावी घोषणा पत्रका प्रतिवद्धता सरकारमै रहेर कार्यान्वयनका लागि पहल गर्ने महासचिव भुसालको भनाई थियो । 

उनले भने, ‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ । अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन । यही गठबन्धन रह्यो भने यही गठबन्धनको सरकार बन्यो भने पनि हामी हाम्रा नीतिहरु कार्यान्वयनका निम्ति पहल गर्छौं । यो भन्दा अर्को बन्यो भने पनि हामी पहल गर्छौ । हामीले यो घोषणा पत्रमै के भनेका छौं भने- हामी सरकारमा रहने अवस्था भयो भने हामी यी हाम्रा प्रतिवद्धताहरुलाई कार्यान्वयनमा उर्ताछौं । यदि हामी सरकारमा रहनौं भने हामी हाम्रा आवाजहरु जनताको आवाजको रुपमा जनप्रतिनिधिको रुपमा उठाइरहन्छौं । हाम्रोतर्फबाट हामीले पहल गरिरहन्छौं भनेका छौं । कुरा यही हो । गठबन्धन यही रहन्छ, यो गठबन्धनमा हामी पनि रहन्छौं भने हामीले हाम्रा नीति, कार्यक्रमहरु सरकारमै रहेर पहल गर्छौं । यदि यो रहेन भने अर्कैं परिस्थिति निर्माण भयो भने तदनुकूलनै हाम्रा कुराहरु लिएर अघि बढ्छौं ।’ 

महासचिव भुसालले आधारभूत तहको शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन पनि आफूहरुले पहल गर्ने कुरा घोषणा पत्रमा समावेश गरिएको बताए । 

Logo