निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिता भित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कार्तिक १७ गते (भोलि) देखि राजनीतिक दलहरुले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो ।
बुधवार निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानून, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहीता प्रतिकुल हुनेगरी सभा, समारोहहरु नगर्न आग्रह गरे । राजनीतिक दलहरुले अर्काको कार्यक्रम बिथोल्न लागेमा र अर्कालाई आरोप–प्रत्यारोप गरेमा कारबाहीको भागिदार हुने उनले स्पष्ट पारे ।
उनले राजनीतिक दलहरुले आमसभा गर्न लागेको कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने प्रावधानलाई कडाईका साथ पालना गर्नपनि सचेत गराए । उनले व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनैपनि शब्दहरु उच्चारण नगर्न, प्रचारप्रसार गर्ने क्रममा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, झोला लगायतका निर्वाचनसँग सम्बन्धित दलको चिन्ह प्रयोग भएका सामग्रीहरु प्रयोग नगर्न पनि सचेत गराए । उनले निर्वाचन आचारसंहिताले तोकेको ढाँचामा मात्रै पर्चा तथा पम्प्लेट बनाउन पनि आग्रह गरे ।
संयोजक भण्डारीले सार्वजनिक स्थलहरुमा पार्टीको झण्डा तथा पर्चा, पम्प्लेटहरु राख्नु नहुने बताए । कुनैपनि कार्यक्रम गर्दा १० वटा भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने पनि उहाँले उल्लेख गरे । उनले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका र समानुपातिकका उम्मेदवारहरुले तोकिएभन्दा बढी सवारी साधन प्रयोग गर्नु नहुने समेत स्पष्ट पारे ।
निर्वाचन आयुक्त भण्डारीले सरकारी लाभको पदमा बसेर उम्मेदवार हुन र निर्वाचन प्रचारप्रसारमा सरिक हुन नपाउने भन्दै कोही त्यसरी सरीक भएको देखेमा आयोगलाई सूचना दिन आग्रह गरेका छन् । लाभको पदमा बसेर उम्मेदवार बनेको अवस्थामा निर्वाचनको दिनसम्म पनि मनोनयन पत्र खारेज हुने उनको भनाई छ । निर्वाचन आयोगले निर्वाचन जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।





























प्रतिक्रिया