आगामी निर्वाचनका लागि कास्की- २ पनि चर्चामा रहेको निर्वाचन क्षेत्र हो।
लामो समयदेखि एमालेले आफ्नो गढका रुपमा लिँदै आएको यस क्षेत्रमा यो निर्वाचनमा भने एमाले र सत्ता गठबन्धनका उम्मेदवारबिच प्रतिस्पर्धामा रोचक हुने देखिएको छ। एमालेले वर्षौदेखि जित्दै आएको यस क्षेत्रमा यो निर्वाचनमा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छिन् भने सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका श्रीनाथ बराल प्रतिस्पर्धामा छन्।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादीसहितको बाम गठबन्धनबाट एमाले नेता स्व. रवीन्द्र अधिकारीले यसै क्षेत्रबाट निर्वाचन जितेका थिए। लगातार ३ पटकसम्म नेता रवीन्द्र अधिकारीले यसै क्षेत्रबाट चुनाव लडेर जित्दै आएकाले यस क्षेत्रलाई एमालेको गढ क्षेत्रमा रूपमा लिइँदै आएको छ। नेता अधिकारीको प्लेन दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा उनकी पत्नी विद्या भट्टराई उम्मेदवार बनी विजयी भएकी थिइन्। एमालेले विरासतको रूपमा लिँदै आएको यस क्षेत्रमा यो निर्वाचनमा कसले बाजी मार्ला भन्ने विषय बढी चर्चामा रहेको छ।
लामो समयदेखि जित्दै आएको निर्वाचनमा एमाले उक्त विरासत जोगाउने कसरतमा लागिपरेको छ। गत निर्वाचनमा भएको चुनावी समीकरण बदलिएर अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टीसहितको पाँच दलीय सत्ता गठबन्धन रहेको छ।
विरासत जोगाउने कसरतमा एमालेले लागेको छ भने पाँच दलीय सत्ता गठबन्धन यस क्षेत्रमा एमालेको विगतको विरासत भत्काउने लक्ष्यका साथ चुनावी अभियानमा सक्रिय भएको छ। आगामी निर्वाचनका लागि सत्ता गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल प्रतिस्पर्धामा छन् भने एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छिन्।
विगतमा एमालेकै राजनीति गरेर गत वर्ष मात्रै बनेको नेकपा समाजवादीमा गएका नेता बराल र एमालेका उम्मेदवार भट्टराईबिचको चुनावी प्रतिस्पर्धालाई निकै रोचक रूपमा हेरिएको छ। गएको स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवार रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए। २०६४ साल र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा पनि नेता अधिकारी यसै क्षेत्रबाट निर्वाचित भएका थिए।
हेलिकप्टर दुर्घटनामा नेता रवीन्द्र अधिकारीको निधन भएपछि २०७६ मा भएको उप-निर्वाचनमा तत्कालिन नेकपा उम्मेदवार अधिकारी पत्नी भट्टराई २४ हजार ३ सय ९४ मत ल्याएर विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९९ मत प्राप्त गरेका थिए।
गत निर्वाचनमा बाम गठबन्धन गरेर निर्वाचनमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचनमा झन्डै दुई तिहाइ मत ल्याएका थिए। त्यसपश्चात् एमाले र माओवादीबिच पार्टी एकता भएर नेकपा बनेको थियो। तर अहिले त्यो नेकपा पनि विभाजन भइसकेको छ भने दुई तिहाइ सरकारको नेतृत्व गरेको एमाले समेत विभाजन भइसकेको अवस्था छ। एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको छ।
यस्तो छ अंकगणित
पुम्दीभुम्दी, कृष्तीनाच्ने चौर, निर्मल पोखरी, काहूँ, भलाम, लामाचौर, आर्वा र मौजा गाविस तथा पोखरा उपमहानगरका १८ वटा वडा पर्ने कास्की २ मा अहिलेको निर्वाचनमा प्रमुख प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेबिच नै हुने देखिएको छ।गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत अध्ययन गर्दा गठबन्धन बलियो देखिन्छ। कास्की २ मा पोखरा महानगरपालिकाको ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी ११ वटा वडा पर्दछन्।
यी ११ वटा वडामध्ये ६ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने ५ वटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए। यस चुनावमा एमालेका वडाध्यक्षले कूल २१ हजार १ सय ६४ मत ल्याएका थिए भने कांग्रेसका वडाध्यक्षले १९ हजार ८ सय मत ल्याएका थिए। नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले २ हजार ५३ मत ल्याएका थिए भने राप्रपाका वडाध्यक्षले २ हजार ७९ मत ल्याएका थिए। त्यसैगरी माओवादी केन्द्रका वडाध्यक्षले १ हजार १ सय ९८ मत ल्याएका थिए भने अन्य दल र स्वतन्त्र उम्मेदवारले ७ सय ५० मत ल्याएका थिए।
स्थानीय चुनावको नतिजा हेर्दा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवारले ल्याएको मत बढी छ। तर पाँच दलीय सत्ता गठबन्धनको मत जोड्दा भने कास्की २ मा गठबन्धन दल बलियो देखिएको छ। वि.सं. २०४६ को प्रजातन्त्रको पुनः स्थापनापछि भएका ६ वटा संसदीय निर्वाचनमा कास्की २ ले चर्चेका स्थानमा ५ पटक एमालेले चुनाव जितेको छ, भने कांग्रेसले १ पटक मात्र चुनाव जितेको छ। एमालेबाट तुलबहादुर गुरुङ, रवीन्द्र अधिकारी र विद्या भट्टराईले चुनाव जितेका थिए भने कांग्रेसबाट महादेव गुरुङ विजयी भएका थिए।
यस क्षेत्रमा महानगरका ११ वडा समेटिएकाले विकासको नयाँ मोडल स्थापित गर्नुपर्ने एमाले उम्मेदवार विद्या भट्टराईको भनाई छ। यस क्षेत्र प्राकृतिक स्रोतसाधनले सम्पन्न रहेकाले यहाँका प्राकृतिक सम्पदाको संरक्षण र उपयोग गर्ने किसिमले अघि बढ्नुपर्ने उनको भनाई छ। त्यसैका लागि कास्की २ मा मतदाताले आफूलाई मतदान गर्ने उनी बताउँछिन्।
सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बराल लामो समयदेखि आफूले यही क्षेत्रका लागि योगदान दिएकाले आफ्नो जीत सुनिश्चित भएको बताउँछन्। विगतमा एमालेमा रहँदा पार्टीमा लामो समय योगदान दिँदा पनि संसदीय राजनीतिमा कुनै अवसर नपाएका नेता बराल यो निर्वाचनमार्फत गठबन्धनको सहयोगमा संसद् प्रवेश गर्ने तयारीमा छन् । ७९ हजार १ सय ३८ मतदाता रहेको कास्की- २ मा प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।































प्रतिक्रिया