नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताएका छन् । आफू सांसद भएमात्रै कांग्रेस भित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उनको भनाई थियो ।
पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन जितेर गए काँग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटकपटक दोहो-याए । त्यसका लागि काठमाडौं क्षेत्र नम्बर ४ का अगुवाहरुले आफूलाई जिताउनका लागि बाँकि समय लागिदिनुपर्ने महामन्त्री थापाको अनुरोध थियो ।
महामन्त्री थापाले भने- ‘काँग्रेसमा पनि एउटा अवस्थामा मात्रै संसदीय दलको चुनाव हुन्छ, क्षेत्र नम्बर ४ बाट तपाईँले चुनाव लड्ने मान्छे जिताएर पठाई दिनु भयो भने बल्ल चुनाव हुन्छ । नभए त्यहाँ पनि हुँदैन । अनि, देशमा ठूलो परिवर्तन सबलाई चाहिएको छ । राजनीतिक नेतृत्व परिवर्तन गर्ने भनेको कि पार्टीको महाधिवेशन हो कि त्यही संसदीय दल हो । जहाँनेर प्रतिस्पर्धा गर्ने हो । त्यो प्रतिस्पर्धा नै भएन भने चाँही परिणाम कहाँबाट आउने हो ? अनि, त्यो प्रतिष्पर्धा गर्ने, लडाइँ लड्ने मान्छे चाहिएला नि पहिला ।’
उनले अगाडि थपे ‘मेरो प्रस्ताव विश्वप्रकाश शर्मा झापाबाट जितेर आउनुपर्ला । उम्मेदवार जित्ने मान्छे जितेर जानु पर्ला । अनि बल्ल लडाई होला । लडाई भएन न परिणाम आउने सम्भावना बाँकि रहला । नभए सम्भावना बाँकि रहन्छ कहाँ ? सब जनाले ठूल्ठूलो बदलाव ल्याउने भन्नु भएको छ । एउटा संसदीय राजनीतिक पद्धति छ । त्यो पद्धतिबाट निर्वाचन क्षेत्रबाट सांसद जितेर जान्छ । कोही प्रधानमन्त्री निर्वाचित हुने होइन । यहाँ त सांसद निर्वाचित भएर जाने हो । अनि, त्यो सांसद आफ्नो संसदीय दलमा गएर निर्वाचन लड्छ । अनि, निर्वाचित भयो भने बल्ल त्यहाँ दावी गर्न पाउँछ । त्यो निर्वाचन लडनै कोही तयार छैन यहाँ । अनि, त्यो निर्वाचन लडदाखेरी न बल्ल दावी होला । मेरो मतदातालाई गएर तपाईले यो कुरा बताईदिनुपर्नेछ, जो परिवर्तनको पक्षमा छन । भनिदिनुपर्नेछ- कुरा बुझाई दिनुपर्नेछ । तपाई आफैं हुनुहुन्छ त्यो ठाउँमा । तपाई गई दिनुपर्नेछ । तपाईहरु मलाई २ अव दिनुहोस् । म तपाईहरुलाई १० वर्षमा सुध्रेको राजनीति दिनेछु ।’
महामन्त्री थापाले अवको निर्वाचन पछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरुले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थानै नरहने चेतावनी समेत दिए । जनप्रतिनिधिहरुले अव पनि मतदाताहरुमाथि निर्वाचनमा गरेको बाचा अनुसार काम नगरे उनीहरुले फेरी चुनाव लड्न नपाउने पनि उनको बताए ।
महामन्त्री थापाले सत्तारुढ गठबन्धनको आगामी निर्वाचनपछि बहुमत आउने दावी गर्दै त्यसपछि पाँच वर्षसम्म एकतावद्ध भएर जनताको भावना अनुसार काम गर्न प्रतिवद्ध हुनुपर्ने पनि बताए ।
उनले भने ‘म यो विषय लगातार उठाउन चाहन्छु । सुस्ताउन पनि पाईदैन, बिराउन पनि पाईदैन । विश्राम गर्न पनि पाईदैन । एक वर्षमा गर्नुपर्ने काम एक महिनामा गर्नुपर्नेछ । एक महिनामा गर्नुपर्ने काम एक दिनमा गर्नुपर्नेछ । निर्वाचनमा जसरी दिनरात काम गरिरहेका छौं, निर्वाचन पछि पनि सुस्ताउन पाईदैन अव । ६ देखि १२ घण्टा लगातार काम गर्नुपर्नेछ । एउटा गति देशलाई दिनुपर्नेछ । त्यो विषय समूहमा लिएर जान चाहन्छु । त्यसका निम्ति जान चाहन्छु त्यहाँ । यो पटक हामीलाई ढिलो गर्ने सुविधा छैन । असफल हुने सुविधा छैन । हामी ठूलो जिम्मेवारी लिएर संसदमा जाँदैछौं । यो जिम्मेवारीबाट कथमकदाचित हामी कुनै पनि कारणले चुक्यौं भने त्यसको मूल्य पहिला हामीले चुकाउनु पर्छ ।’





























प्रतिक्रिया