निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारले चुनावी प्रचारप्रसार तिव्र पारेका छन् । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो पक्षमा मततालाई प्रभावित गर्न चुनावी सभा, घरदैलो तथा भेटघाट तिव्रता पार्दै गएका हुन्। यो निर्वाचन पाँच दलीय सत्ता गठबन्धनका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नेतृत्वमा जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपालसहितको अर्को गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को प्रतिस्पर्धा रोचक हुने देखिएको छ। सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता प्रकाशमान सिंह काठमाडौँ १ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रविन्द्र मिश्र उम्मेदवार बनेका छन्। यता नेकपा एमालेले युवा संघ नेपालका अध्यक्ष किरण पौडेललाई उम्मेदवार बनाएको छ भने नेपाल सुशासन पार्टीको तर्फबाट नेपाल प्रहरीका पुर्व डिआइजी रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पुकार बम उम्मेदवार बनेका छन्।
उम्मेदवार धेरै देखिएपनि यस निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा सिंह र मिश्रबीच हुने आकलन गरिएको छ। गएको निर्वाचनमा पनि आमनेसामने भएका यी दुवै यो निर्वाचनमा दोस्रोपटक आमनेसामने भएका छन्।
२०७४ सालमा भएको निर्वाचनमा नेता सिंहले तत्कालिन विवेकशील पार्टीका रवीन्द्र मिश्रलाई ८१८ मतको झिनो मनान्तरले पराजित गरेका थिए। सिंहसँग थोरै मतान्तरले पराजित भएका मिश्र यस पटक दल बदलेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। त्यतिबेला साझा पार्टीबाट उम्मेदवार भएका मिश्र विवेकशील र साझा पार्टी एकीकरण गरेर विवेकशील–साझा पार्टी गठन भएको थियो।
तर आन्तरिक कलह बढ्दै गएपछि मिश्र राजसंस्थाको स्थापना, हिन्दुधर्म र संघीयता खारेजीको मुद्दामा सहमत भएर केही समय पहिले मात्रै राप्रपा प्रवेश गरेका हुन्। मिश्रले राप्रपाको बरिष्ठ उपाध्यक्षको जिम्मेवारी समेत पाएका छन् भने राप्रपा प्रवेश गरेलगत्तै उम्मेदवारी घोषणा समेत गरेका थिए।
बिबिसीको सुबिधासम्पन्न जागिर छाडेर वैकल्पिक शक्तिको नाममा विवेकशील साझा पार्टी निर्माण गरेका मिश्रले पार्टीमा हिन्दु राज्य र राजतन्त्रप्रति आस्था प्रकट गर्दा विवाद उत्पन्न भएपछि सो पार्टीबाट अलग भएर राप्रपामा आबद्ध भएका हुन्। ‘विचारभन्दा माथि देश’ भन्ने नारा अघि सारेका उनले संवैधानिक राजसंस्था तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी, सनातन हिन्दु-बौद्ध राष्ट्र, धर्म पहिचान, संस्कृति, सम्पदाको संरक्षण, वर्गीय समावेशिता र समानुपातिक प्रतिनिधित्व जस्ता एजेन्डा लिएर चुनावी मैदानमा जाँदै उत्रिएका छन्।
यता २०६४ र २०७० सालको संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचन काठमाडौँ १ बाटै जितेका सिंह पुनः अर्को जीतका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। दोस्रोपटक प्रतिनिधिसभाको निर्वाचनमा आमनेसामने भएका सिंह र मिश्रबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
विगतका धेरै निर्वाचन नेपाली कांग्रेसका उम्मेदवारले जित्दै आएको र सत्ता गठबन्धन आवद्ध हुँदा नेकपा एस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको मत पनि थपिन्छ। त्यसो हुँदा सिंहले आफ्नो जीत पक्का रहेको बताउँदै आएका छन्।
विभिन्न कार्यक्रमका बहानामा जनताको घरदैलोमा निरन्तर पुगिरहने नेतामा सिंह पर्छन्। तर निरन्तर तीनवटा निर्वाचन यही क्षेत्रबाट जितेर पनि यस क्षेत्रको विकासमा भने खासै टेवा नदिएको आरोप सिंहमाथी रहेकाले उनिप्रति मतदाता त्यति सकारात्मक छैनन्।
२०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहका छोरा प्रकाशमान नेपाली कांग्रेसको काठमाडौंका सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्म भइसकेका छन्। सिंहले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सुरूमा सभापतिको उम्मेदवार बनेपनि पछि शेरबहादुर देउवालाई सहयोग गरेका थिए।
सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएका उनी पटकपटक मन्त्री भएका थिए। २०४८ सालको आमनिर्वाचनमा काठमाडौँ-४ मा एमालेकै सहाना प्रधानसँग पराजित भएका सिंह २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौँ-३ मा एमालेका मनमोहन अधिकारीसँग पराजित भएका थिए। सिंहले २०७४ सालको संविधानसभा निर्वाचनमा एमालेका प्रदीप नेपाललाई पराजित गरेका थिए।
०७० को संविधानसभा निर्वाचनमा सिंहले नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड पुत्री रेनु दाहाललाई ठूलो मतान्तरले पराजित गरेका थिए। सिंहले १५ हजार १३८ मत ल्याउँदा दाहालले चार हजार ६४ मत ल्याएकी थिइन्।
अघिल्लो चुनावमा वैकल्पिक शक्तिका रूपमा मिश्र चुनावी मैदानमा थिए। तर यो निर्वाचनमा राजसंस्था र हिन्दु धर्म मुख्य एजेन्डा बनाएमा मिश्रलाई यो चुनाव त्यति सजिलो भने छैन। गत वैशाखमा भएको स्थानीय निर्वाचनमा तीन वडामा कांग्रेसले जितेको छ भने १ वडामा एमाले विजयी भएको छ। यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा चर्चामा रहेका पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीको चिह्नमा उम्मेदवार बनेका छन् ।
यस्तो छ अंकगणित
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा काठमाडौँ महानगरपालिकाका चारवटा वडा १०, ११, २९, ३१ पर्छ। जो नयाँ बानेश्वर, पुरानो बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका क्षेत्र पर्छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ हजार १८ जना मतादाता छन्। २०७४ सालको तुलनामा यस क्षेत्रमा २ हजार ५ सय ८८ जना नयाँ मतदाता थपिएका छन्।
गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतपरिणाम अनुसार यस क्षेत्रमा कांग्रेस बलियो देखिन्छ। जसअनुसार कांग्रेसले ९ हजार ८ सय ९५, एमालेले ९ हजार ५ सय ४१, माओवादी केन्द्रको १ हजार १ सय ५९, राप्रपा नेपालको १ हजार १ सय ४९ र विवेकशील साझाले २ सय ७३ मत ल्याएको थियो।
यस क्षेत्रका चार वटा वडामध्ये १०, ११ र २९ मा कांग्रेस र ३१ नम्बर वडामा एमालेको मत बढी रहेको छ। १० वडामा कांग्रेसले ३ हजार ४ सय २८ मत प्राप्त गर्दा एमालेले १ हजार ९ सय ५३ पाएको छ। एमालेको बढी प्रभाव रहेको ३१ नम्बर वडामा एमालेले ४ हजार ७ सय ६७ र कांग्रेसले २ हजार ९ सय ९१ मत ल्याएको छ।





























प्रतिक्रिया