वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरेको बताएका छन् ।
निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्षमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रवन्ध’ विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै म्याच फिक्सिङ गरेको बताएका हुन् । गठबन्धन र तालमेलको नाममा मतदाताको रोजाईको उम्मेदवारलाई मतदान गर्न नसकिएको उनको भनाई छ ।
उनले भने– ‘निर्वाचन भनेकै के हो भने मतदातालाई फुल च्वाइस दिनुप-यो । तर के भइदियो भने यो गठबन्धन भन्यो । अर्को तालमेल भन्यो । मतदाताले आफूले चाहेको उम्मेदवारलाई भोट हाल्ने अवस्था छैन । चाहेको पार्टीलाई भोट हाल्ने अवस्था छैन । त्यो सूची नै छैन कतिपय निर्वाचन क्षेत्रमा । आफूले चाहेकोमा गर्न सक्दैन । म्याच फिक्सिङ पहिल्यै भइसकेको छ, कसलाई जिताउने, कहाँबाट जित्ने । ठूला नेताहरु सबै सुरक्षित छन् । उनीहरुलाई जनताले जतिसुकै नो नट अगेन भनेपनि यथार्थमा त्यो होला जस्तो छैन । किनभने म्याच पहिल्यै फिक्स भइसकेको छ । को जित्ने, को हार्ने । सबै डिजाइन गरिएको छ । यसले निर्वाचनपछि पनि कुनै स्थिरतमा जाँदैन । यसले गम्भिर अस्थिरताको दौड शुरु गर्नेछ । किनभने अहिले सबै प्रधानमन्त्रीको उम्मेदवार छन् । सबै कुरा अनिश्चित छ । यो लोकतान्त्रिक प्रणालीको मजाक हो ।’
वरिष्ठ अधिवक्ता त्रिपाठीले समानुपातिक निर्वाचन प्रणालीलाई नेता व्यवस्थापनका लागि मात्रै प्रयोग गरिएको बताए । उनले निर्वाचन नजित्नेलाई थन्काउनका लागि मात्रै समानुपातिक निर्वाचन प्रयोग भएको टिप्पणी गरे ।
उनले भने– ‘समानुपातिकलाई दामानुपातिक भनेर मान्छेहरुले भन्छन् । पूरै दाम चढाउने प्रणालीमा हामीले रुपान्तरित गरिसक्यौँ । पटकपटक एउटै मान्छे दोहोरिएको छ । नेता व्यवस्थापनका लागि प्रयोग गरियो । जो कहीँ चुनाव जिताउन सकिँदैन, त्यसलाई कहाँ लगेर व्यवस्थापन गर्ने त्यो डम्पिङसाइट हामीले बनायौँ । नेतालाई व्यवस्थापन पनि गर्नुप-यो । दाम पनि कमाउनुप-यो त्यसका लागि प्रयोग गरियो । समानुपातिक प्रणाली आफैँमा खराब होइन । तर यसका विज्ञहरुले के भन्छन् भने जुन देशमा राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्र छैन, त्यो देशमा यो समानुपातिक प्रणाली काम गर्दैन । किनभने कसलाई दिने, नदिने नेताको खल्तीमा हुन्छ । जसले पैसा दिन्छ, त्यसलाई दिन्छ । या आफ्नो नातेदारलाई दिन्छ । प्रतिनिधित्वविहिनहरुका लागि, आवाजविहीनहरुका लागि त्यहाँ कुनै स्थान हुँदैन । त्यसको मर्म र मान्यता नै समाप्त भएको स्थिति छ ।’
वरिष्ठ अधिवक्ता त्रिपाठीले निर्वाचन आयोगको विश्वसनीयतामा गम्भिर प्रश्न उठेको बताए । निर्वाचन आयोगको पञ्चायती मानसिकता रहेको र पञ्चायतकालमा अञ्चलाधीशले गर्नेजस्तो काम आयोगबाट भइरहेको उनले टिप्पणी गरे ।
अधिवक्ता मोहना अन्सारीले निर्वाचन आयोग पार्टीको छाँयाको रुपमा चलिरहेको बताइन्। आयोगले खर्चको सीमा तोकेको भएपनि राजनीतिक दलहरुले धेरै खर्च गरिरहेको भएपनि नियन्त्रण गर्न नसकको उनले बताइन् ।
उनले भनिन्– ‘निर्वाचन महंगो भयो । आयोगले नियन्त्रण गर्न सकेन । निर्वाचन आयोग संवैधानिक आयोग हो । तर यसो हेर्दाखेरी पार्टीको छायाँ हो । पार्टीको छायाँमा ऊ चलिरहेको छ भन्ने देखिन्छ । दिनप्रतिदिन महंगो निर्वाचनमा जाँदैछौँ । यसले भ्रष्टाचारतिरै इंकित गर्छ ।’





























प्रतिक्रिया