नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले देशको भविष्यलाई उज्वल बनाउनका लागि मतदाताले योग्य व्यक्तिको चयन गर्नुपर्ने बताएका छन् ।
बिहीवार नेपाली काँग्रेसका संस्थापक नेता स्व.गणेशमान सिंहको १०८ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आसन्न मंसिर ४ गतेको निर्वाचनमा जनताले चुनेर पठाएका प्रतिनिधिहरुले संविधान सभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए । उले काँग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जित निकालेर देशको विकासमा लाग्ने बताए ।
उनले आसन्न निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्नपनि आग्रह गरे । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका नेता सिंहले समावेशिता र लोकतन्त्रलाई मजबुत गर्न गठबन्धन लाग्ने बताए । उनले संघर्षबाट प्राप्त गरेको अधिकारलाई सुनिश्चित र सुरक्षित गर्दै आगामी दिनमा विकासका काम अघि बढाउनु नै गणेशमान सिंहप्रतिको सच्च श्रद्धाञ्जली हुने बताए ।
नेता सिंहले कार्यक्रममा गणेशमान सिंहले गरेका कामहरुको चर्चा गरी आजको दिनमा पनि उनका कामहरुलाई व्यवहारमा उतार्न आवश्यक्ता रहेको बताए । काँग्रेस संस्थापक नेता सिंहको आज विभिन्न कार्यक्रम गरेर देशभर १०८ औं जन्मजयन्ती मनाइँदै छ ।





























प्रतिक्रिया