राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु नहुने बताएकी छन् । मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएकी हुन् ।
राप्रपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेकी पोखरेलले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भुगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताइन् । यस निर्वाचन क्षेत्रमा आफूले जिते पहिलो काम नै विकासको हुने प्रतिवद्धता पनि उनले जनाइन् ।
उनले भनिन्, ‘मेरो प्रमुख एजेण्डा भन्नु नै राष्ट्र, राष्ट्रियता र युवा शक्तिका लागि हो । युवा वर्गहरु विदेश पलायन हुनुपर्ने बाध्यता छ, त्यसलाई रोक्नका लागि पनि हो । म यहाँ डुल्दा विकास नभएको पाएँ । कोटेश्वर, बानेश्वरतिर ठिक छ तर शंखरापुरमाथि गए रुकुम, रोल्पा जस्तो छ । कागेश्वरी भित्र सडकमै ढल छ । चार लेनको बाटोमा सवारी चल्दैनन् । यो क्षेत्रमा बजेट कति आएको छ त्यो हेर्न मन छ । पहिलो काम मेरो फाइल पल्टाएर यो क्षेत्रका जनताको लागि आएको बजेट हेर्ने काम हुनेछ । बजेट आएको र दुरुपयोग भएको पाएँ भने कारबाहीको लागि मैले सिफारिस गर्छु । बजेट आएको छैन भने वर्षौंदेखिको बजेट अब म यहाँ ल्याएर विकास गर्छु ।’
नेतृ पोखरेलले काठमाडौं २ मा विकासको जिम्मेवारी आफू लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरुसँग आग्रह गरिन् ।





























प्रतिक्रिया