आगामी निर्वाचनका लागि नेकपा एमालेका युवा नेता ठाकुर गैरे पाल्पा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन्। यो निर्वाचनमार्फत पहिलोपटक संसदीय यात्रामा डेब्यु गर्ने तयारीमा रहेका नेता गैरे आफ्नै पूर्व सहकर्मीसँग प्रतिस्पर्धा गर्दैछन्।
राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण स्थान बनाए पनि संसदीय तथा अन्य राजकीय जिम्मेवारीमा कुनै अवसरमा नपाएका नेता गैरेको यो यात्रालाई चासोका साथ हेरिएको छ। पाल्पा २ मा हालसम्म एमालेबाट एकलौटी रूपमा टिकट पाउँदै आएका सोमप्रसाद पाण्डे यो निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनको उम्मेदवार बनेका छन्।
नेता पाण्डे एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेपछि नेता गैरेले यो निर्वाचनमा चुनाव लड्ने अवसर पाएका हुन्।आफूभन्दा अगाडिका, सहकर्मी तथा आफूभन्दा जुनियर पुस्ताले समेत पटक पटक संसदीय/राजकीय जिम्मेवारी पाइसक्दा पनि हरेक अवसरबाट वञ्चित हुँदै आएका गैरेले यो पटक पनि प्रत्यक्ष चुनावमार्फत जनताबाट अनुमोदित हुने अवसर पाएका छन्। एमालेमा लामो समय सोमप्रसाद पाण्डेलाई जिताउन भूमिका खेलेका ठाकुर गैरै अहिले फरक दलबाट आमनेसामने भएका छन्। गत वर्षमा माधव नेपाल समूहले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा पाण्डे समाजवादीतिर लागेका थिए।
नातामा माधव नेपालका सम्धी पर्ने नेता पाण्डेले त्यही नाताको फाइदा उठाउँदै पटक पटक टिकट पाउँदै आएका थिए। तर एउटै समूहमा रहेर लामो समय काम गर्दै आए पनि नेता गैरेले भने अहिलेसम्म एक पटक पनि निर्वाचनमा टिकट पाउने मामिलामा होस् वा अन्य कुनै जिम्मेवारी पाउने कुरामा वञ्चित हुँदै आएका थिए।
संसदीय राजनीतिमा ७ औँ पटक चुनावी मैदानमा उत्रिएका पाण्डेका लागि नेता गैरे चुनौतीका रूपमा प्रतिस्पर्धामा उत्रिएका छन्। २०५१ सालदेखि २०७४ सालसम्मका सबै निर्वाचनमा प्रतिस्पर्धा गरेका पाण्डेले २०६४ सालबाहेक चार वटै निर्वाचन जित्दै आएका छन्।
यो निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा उम्मेदवार बनेका नेकपा एसका पाण्डेका लागि चुनाव जित्न त्यही सहज भने छैन। किनभने उनले पूर्व सहकर्मी मात्रै होइन पूर्व पार्टीका विरुद्ध चुनाव लड्नुपर्ने छ।एमाले विभाजन भएपछि विगत १ वर्षदेखि पाल्पामा संगठन विस्तार र पार्टी काममा जिल्लामै सक्रिय रहेका नेता गैरे एमालेको पोलिटब्युरो सदस्य तथा एमाले पाल्पाका इन्चार्ज समेत हुन्।
यस्तो छ अंकगणित
पाँच दलीय सत्ता गठबन्धनको दबदबाका बिचमा गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो स्थान ल्याउन सफल भएपछि गठबन्धनविरुद्ध गैरेको अग्निपरीक्षा सफल भएको भनेर उनको चर्चा चुलिएको अवस्था छ।
पालिका देखि वडा स्तरसम्मै ५ दलको गठबन्धन भएको पाल्पाका १० स्थानीय तहमध्ये एमालेले ६ वटा पालिकामा एकल रूपमा जीत हासिल गरेको थियो। यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमालेले ३०५६६, कांग्रेस २९०३९, माओवादी ४३१३, एस ४३३, राप्रपा ३३६ मत प्राप्त गरेका छन्।
कम्युनिस्टको नाम राखेर चुनावमा कांग्रेसलाई बोकेर हिँड्नेहरूलाई अब जनताले चिनिसकेको नेता गैरेको भनाई छ। नेकपा एस र नेकपा माओवादी केन्द्रलाई लक्षित गर्दै छातीमा हँसिया हतौडा झन्डा राखेर रुख बोकेर हिँड्ने र मस्तिष्कमा विदेशीको सेवक बन्नेलाई जनताले विश्वास नगर्ने नेता गैरे बताउँछन्।
नातावादको आडमा पाँच पटकसम्म एमालेको चुनाव चिन्ह लिएर जनताको सेवक बन्छु भनेका नेता पाण्डेलाई जनताले जिताएर पठाए पनि आज पाल्पाली जनता र देशलाई धोका दिएको आरोप समेत गैरेले लगाउँदै आएका छन्।
क्षमता र लगानी हुँदाहुँदै पनि अहिलेसम्म पार्टीभित्रको नातावादका कारण अवसरबाट वञ्चित भएका नेता गैरेप्रति पाल्पा २ का पार्टीभित्रका मतदाता मात्रै नभएर आम मतदाताको उनीप्रति एक खालको सद्भाव रहँदै आएको छ।चुनावी अभियानको क्रममा अहिले जनताको घरदैलोमै रहेका नेता गैरे पाल्पामा आफ्नो प्रतिस्पर्धी नै भएको अनुभूति नभएको बताउँछन्।
आफ्नो जीत सुनिश्चित भइसकेको दाबी गर्ने नेता गैरे आफूले मात्र नभएर पाल्पा जिल्लावासीले नै प्रतिस्पर्धी भएको अनुभूति गर्न नपाएको बताउँछन्। उनले भने, ‘पाल्पा जिल्लामा मेरो प्रतिस्पर्धी हुनुहुन्छ भन्ने नै मलाई अनुभूति छैन। मेरो प्रतिस्पर्धी हुनुहुन्छ भन्ने कुरा पाल्पा जिल्लावासीहरूले पनि अनुभव गर्नुभएको छैन मैले पनि गरेको छैन। मेरो जीत सुनिश्चित छ।’
यस्ता छन् गैरेका एजेन्डा
कृषि र पर्यटनमा राम्रो सम्भावना बोकेको जिल्ला पाल्पामा सडक क्षेत्रको पूर्वाधार विकास गर्ने ठाकुर गैरेका एजेन्डा छन्। खास गरी तानसेन-बुटवल सडक खण्डलाई सुरक्षित, व्यवस्थित मार्गका रूपमा विकास गर्ने एजेन्डा रहेको उनको भनाई छ। ‘तानसेन र सबै छिमेकी जिल्लालाई पाल्पासँग जोड्ने सडकलाई व्यवस्थित गर्ने, कालोपत्रे गर्ने मेरो योजना छ’, उनले भने ‘पाल्पा जिल्लामा प्रशस्त खेतीयोग्य जमिनहरू रहेका छन्। त्यससँग जोडिएका कृषि सडक, सहायक सडकलाई व्यवस्थित गर्ने योजना छ।’
त्यस्तै सिद्धार्थ राजमार्ग, काल गण्डकी करिडोर, रामपुर चपुरकोट सडक खण्डको कामलाई सम्पन्न गर्ने, चक्रपथलाई सम्पन्न गर्ने एजेन्डा रहेको उनले बताए। त्यस्तै पाल्पामै स्वरोजगार बनाउने उनको अर्को एजेन्डा छ। ‘पाल्पामा रहेका खेतीयोग्य जमिनको प्रयोग गरेर कृषिको आधुनिकीकरण गर्ने। युवाहरूलाई कृषि कर्ममार्फत स्वरोजगार बनाउने र खाद्यवस्तुमा पाल्पालाई आत्मनिर्भर बनाउने’, उनले भने ‘शिक्षा र स्वास्थ्यमा पाल्पालाई नमुना जिल्लाका रूपमा स्थापित गर्ने योजना छ। पाल्पामा रहेका कच्चा पदार्थमा आधारित खनिज, जडीबुटी, बन पैदावार र अरू विषयमा साना, ठुला उद्योग सञ्चालन गर्ने। उद्यमशीलताका माध्यमबाट पाल्पा जिल्लाका नागरिकको आर्थिक स्तर वृद्धि गर्ने। यहाँका जनताको जीवनस्तर माथि उठाउने योजना रहेको छ।’
पर्यटनको एकदमै सम्भावना रहेको पाल्पा जिल्लामा रहेका सम्भावनालाई लिएर पर्यटकीय विकासमा योगदान गर्ने उनले बताए। ‘अंग्रेजसँगको लडाइ, सेन राज्यको समृद्ध सामर्थ्य राज्य पनि यही जिल्लासँग जोडिएको छ। पाल्पाको ऐतिहासिकता, भाषा, संस्कृति, साहित्य, कलाको जगेर्ना गर्ने’, नेता गैरेले भने ‘धार्मिक पर्यटन तथा अन्य पर्यटकीय विकासको माध्यमबाट समग्र जिल्लाको पूर्वाधार, सामाजिक विकास, आर्थिक क्षेत्रमा योगदान गर्छु। पाल्पालाई उत्तर दक्षिणतर्फको कनेक्टिभिटीलाई बढाउने र पाल्पाको समग्र विकास गर्ने।’
राष्ट्रिय राजनीतिमा पहिचान बनाएका भ्रष्टाचार विरोधी अभियान र राष्ट्रियताको पक्षमा पनि अझ बलियोसँग अभियान चलाउने नेता गैरेले बताए। ‘भ्रष्टाचार विरोधी अभियानलाई अझ बलियोसँग अगाडि बढाउने। राष्ट्रियताको आन्दोलनलाई अझ बलियो बनाउने। नेपाली जनताले लडेर प्राप्त गरेको यो व्यवस्थालाई र हामीले लेखेको संविधानलाई कार्यान्वयनमार्फत समग्र देश विकास मार्फत सम्पूर्ण जीवन समर्पण गर्ने मेरो योजना छ’, उनले भने ‘त्यस कारण पाल्पामा मतदाताले मलाई मतदान गर्नुहुनेछ। यस पटक मेरो जीत सुनिश्चित छ।’





























प्रतिक्रिया