चुनाव हार्ने सेलिब्रेटी उम्मेदवारको मत कति ?

चुनाव हार्ने सेलिब्रेटी उम्मेदवारको मत कति ?


प्रतिनिधिसभाको मतगणना जारी छ । यो रिपोर्ट तयार पार्दासम्म १५६ क्षेत्रको नतिजा आइसकेको छ । ९ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम जारी छ । आम निर्वाचन २०७९ मा विभिन्न क्षेत्रका चर्चिात व्यक्तिहरुले विभिन्न दल तथा स्वतन्त्रतर्फ उम्मेद्वारी दिएका थिए । त्यसो त राजनीतिमा सेलिब्रेटी अनुहार देखिनु अब नौलो विषय रहेन । २०७४ सालको निर्वाचनबाट सुरु भएको यो क्रम गत मंसिर चारको निर्वाचनमा पनि अझ बढी देखियो । जो निर्वाचनका समय सर्वाधिक चर्चामा रहे । उनीहरु चर्चाको अनुपातमा मत भने निकै कम मात्र पाउन सफल भएका छन् । 

रेखा थापा
नेपाली सिने जगतकी सफल नायिका रेखा थापा केही वर्षयता सक्रिय  राजनीतिमा छिन् । राजतन्त्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ मा उनलेप्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी थिइ्न । उनी चुनावताका झन धेरै चर्चामा रहिन् । तर, मत भने चर्चा अनुसारको बटुल्न सकिनन् । मतगणनाको सुरुदेखि नै तेस्रो स्थानमा रहेकी थापा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्मासँग करिब ३८ हजार मतान्तरसहित पराजित भएकी हुन् । उनले १० हजार ९९८ मत मात्रै ल्याइन ।

कोमल वली 
नेपाली संगीत क्षेत्रमा बेग्लै छाप बनाएकी चर्चित लोकगायिका कोमल वलीको पहिचान पछिल्लो समय नेतृको रुपमा परिवर्तन भएको छ । राष्ट्रिय सभामा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेकी वली एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ दाङ क्षेत्र नं. ३ बाट चुनाव लडेकी थिइ्न । तर उनले पनि चुनाव जित्ने मत प्राप्त गर्न सकिनन् । ७ हजार ८१० मतान्तरले उनी कांग्रेसकाउम्मेदवार दीपक गिरीसँग पराजित भएकी हुन । गिरीले ३६ हजार ८४२ र वलीले २९ हजार ३२ मत प्राप्त गरे ।

युग पाठक 
झापा- ५ बाट एमाले अध्यक्ष केपी ओलीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका लेखक युग पाठक चुनावताका निक्कै चर्चामा रहे । त्यसो त उनले विगत केही वर्षदेखि विभिन्न लेख र अन्तरर्वार्तामा ओलीको चर्को आलोचना गर्दै आएका थिए । तथापि चुनाव जित्ने मत बटुल्नु त परको कुरा प्रतिस्पर्धीसम्म भएनन् । ९८ हजार ६३१ मत खसेकोमा पाठकले जम्मा ३ सय ५६ मत मात्र प्राप्त गरे ।

हिमेश पन्त
कमेडी च्याम्पियनबाट नेपाली हास्यव्यङ्ग क्षेत्रमा उदाएका कमेडियन हिमेश पन्तले पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । धादिङ १ बाट उम्मेदवारी दिएका पन्तले पनि चुनाव जित्न सकेनन् । नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेसँग चुनाव लडेका पन्तले१२ हजार ४७५ मत ल्याएर तेस्रो स्थान हासिल गरे । पाण्डे ३५ हजार ९३४ मतसहित विजयी भए । 

मधुसुदन पाठक
हाँस्य टेलिसिरियल ‘सक्किगोनि’का कलाकार मधुसुदन पाठकले काठमाडौं क्षेत्र नम्बर पाँचबाट आफ्नो उम्मेदवारी दिएका थिए । उनले पनि चुनाव जित्न सकेनन् । ३३४ मत ल्याएका मधुसुदनका प्रतिस्पर्धी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र कांग्रेसका युवा नेता प्रदीप पौडेल थिए । यस क्षेत्रमा नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले जित हासिल गरेका छन् । 

मनोज पण्डित 
चलचित्र निर्देशक मनोज पण्डित पनि यो निर्वाचनबाट राजनीतिमा होमिएका थिए । लामो समय चलचित्रको पर्दामा कलाकारको नेतृत्व गरेका उनले यो निर्वाचनबाट राजनीतिक यात्राको सुरुवात गरेका थिए । तर, सफल हुन भने सकेनन् । उनले जम्मा १७३ मत मात्रै प्राप्त गरे । पण्डितले काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

सञ्जय श्रेष्ठ 
चर्चित पप गायक तथा कम्पोजर सञ्जय श्रेष्ठले पनि काठमाडौं क्षेत्र नं. ६ बाट स्वतन्त्रतर्फ आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । उनले पनि चुनाव जित्ने मत बटुल्न सकेनन् । ५७७ मत पाएका श्रेष्ठका प्रतिस्पर्धीमा सत्ता गठबन्धनका साझा उम्मेदवार भीमसेनदास प्रधान र पूर्व प्रहरी महानिरीक्षक एवं एमालेका उम्मेदवार सर्वेन्द्र खनाल थिए । यो क्षेत्रबाट रास्वपाका शिशिर खनाल विजयी भएका हुन् । 

Logo