काठमाडौं । सरकारले पश्चिम रुकुम सोती घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत स्वरुप दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सोती घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार १० लाखका दरले राहत दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । साथै घटनामा घाइते भएका सम्पूर्णको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ । सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर, संजिव विक, भेरी ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम चौरजहारी १ का टिकाराम नेपालीको सामूहिक हत्या गरिएको थियो । घटनामा भेरी ४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशिष विक, सुदिप खड्का, भेरी ३ का विभाग पुन, इन्द्रगंज शाही, भेरी १३ का भोला बिसी, भेरी ११ का गोविन्द सुनार, भेरी ३ का महेश कार्की, सल्यानको कुमाख ४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी ४ का सुनिल सुनार घाइते भएका थिए ।
त्यस्तै सरकारले खाद्य पदार्थहरुको गुणस्तर निर्धारण सम्बन्धि आदेश स्वीकृत गरेको छ । आदेश स्वीकृत भएसँगै स्थानीय खाद्य उत्पादनको गुणस्तर मापदण्ड तोकिने छ । मन्त्रिपरिषद्ले राष्ट्रिय जनगणना वि.स.२०७८ का लागि घर तथा घर परिवार सूचीकरण फारम र मुख्य प्रश्नावली पनि स्वीकृत गरेको छ । साथै, सुपरमाइ क्यासकेड जलविद्युत आयोजना र गच्र्याङ खोला साना जलविद्युत आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।
त्यस्तैगरी नेपाल बंगलादेश वाणिज्य सचिव स्तरको छैठौँ बैठकका लागि वार्ता गर्न सचिवको संयोजकत्वमा ११ सदस्य रहेको वार्ता टोली समेत गठन गरिएको छ ।





























प्रतिक्रिया