देउवाको नेतृत्व दाउ : भटाभट मनोनयन

देउवाको नेतृत्व दाउ : भटाभट मनोनयन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पार्टीको महाधिवेशन आउँन करिब ६ महिना मात्र बाँकी रहँदा सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरुमा भटाभट मनोनयन गर्न थालेका छन् । लामो समयको विवादपछि सभापति देउवाले आइतबार राति पार्टीका १० वटा विभागहरुमा सदस्य मनोनयन गरेपछि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आक्रोशित भएका छन् ।

देउवाले पौडेल र सिटौलाका मान्छेहरु राख्नका लागि केही संख्या त खाली राखेका छन् तर यो बेलामा गरेका मनोनयनमाथि असन्तुष्ट नेताहरुले बैधानिकताको प्रश्न उठाएका छन् । महाधिवेशन घोषणा भइसकेको अवस्थामा विभागमा सदस्यहरु थप्ने काम विधिविपरित हुने असन्तुष्ट समूहको भनाइ छ । यो कुरा असन्तुष्ट समूहले पटक पटक देउवालाई भन्दै आएको थियो । गत शुक्रबार पनि देउवा र पौडेलबीच यस बिषयमा लामो कुराकानी भएको थियो । तर विरोध रहँदा रहँदै पनि सभापति देउवाले आइतबार ३९४ जनालाई मनोयन गरिदिएपछि काँग्रेसभित्रको विवाद झन् बढेको छ ।

दुई साता अघि देउवाले पाका उमेरका व्यक्तिहरु राख्नका लागि बनाएको राजनीतिक सभामा झण्डै ४ सय जनालाई मनोनयन गरेका थिए । यो मनोनयनप्रति नै असन्तुष्ट समूहले आपत्ति जनाउँदै आएको थियो । त्यो विरोध हुँदा हुँदै फेरि आइतबार राति ठूलो संख्यामा सदस्य थपेपछि देउवामाथि थप प्रश्न उठ्ने अवस्था आएको हो ।

देउवाले सभापति भएपछि चार बर्ष भन्दा बढी समय विभाग नै गठन गर्न सकेनन् । अहिले नयाँ महाधिवेशन घोषणा भएपछि किन भटाभट विभाग गठन गरिरहेका छन् त ? यसका पछाडि आउँदो महाधिवेशनबाट नेतृत्वमा आउने लेखाजोखा नै मुख्य कारण छ ।

आउदो महाधिवेशनबाट पनि देउवा सभापति बन्ने योजनामा छन् । त्यसैले महाधिवेशन आफू अनुकुल बनाउनका लागि प्रतिनिधिहरु जति धेरै जुटाउन सक्यो त्यति सजिलो हुन्छ । त्यसैले अहिले विभागहरुमा केही मानिसहरु सेट गर्न सक्दा त्यसको गुन तिर्नका लागि पनि महाधिवेशनमा उनीहरु आफ्नो पक्षमा उभिन सक्ने आंकलन देउवाको छ । त्यसैले महाधिवेशनमा आफू बलियो बन्ने रणनीति अन्तर्गत देउवाले अन्तिम समयमा विभागहरुलाई पूर्णता दिने सदस्य थप्ने काम गरेका हुन् ।

खासमा पार्टी र पार्टी कामको महत्वलाई ध्यान दिन्थे भने देउवा आफू सभापति हुने वित्तिकै विभागहरुलाई पूर्णता दिएर अहिलेसम्म पार्टीलाई चलायमान बनाइसक्ने थिए । तर चार बर्ष सुतेर बसेका देउवा अन्तिम समयमा पार्टीका विभागको महत्व दर्शाउँदै पूर्णता दिन लागिपरेका छन् । महाधिवेशनमा जाँदा कार्यकर्ता र प्रतिनिधिहरुले केही प्रश्न पनि उठाउन सक्ने स्थिति हुन्छ । एक कार्यकालभरी विभाग समेत पूर्ण ता दिन नसकेको दोष महाधिवेशनमा आउन सक्ने स्थिति पनि थियो । त्यसैले अन्तिम समयमा भए पनि पार्टीका विभागलाई चलायमान बनाए भन्ने जस लिन पनि देउवाले अहिले मनोनयनको क्रमलाई तिब्रता दिएका हुन् ।

पौडेल, सिटौला लगायत असन्तुष्ट नेताहरुले अहिले विभाग गठन गर्नुलाई देउवाले अब महाधिवेशनबाट पनि पार्टीलाई आफ्नो कब्जा गर्न खोजेको रुपमा बुझेका छन् । किनकी संस्थापन जो छ त्यसले प्रतिनिधिहरु छनौटमा प्रभाव पार्न सक्छ । त्यसरी आउने प्रतिनिधि उही प्रति नजिक हुन्छन् । त्यसैले महाधिवेशनमा देउवाले आफने पकड जमाउन सक्ने भएकाले विभाग गठनमा असन्तुष्टहरुले विरोध गरेका हुन् । असन्तुष्ट नेताहरु अहिले विभागहरुलाई पूर्णता नदिइकन महाधिवेशनमा जानुपर्ने पक्षमा छन् । त्यसैले विभागमा राख्ने मान्छेहरुको नाम देउवाले माग्दा पनि उनीहरुले दिएका छैनन् । देउवाले आइतबार विभागहरुमा पौडेल सिटौला पक्षको भाग खाली राखेर आफूले इच्छाएका व्यक्तिलाई मात्र राखेका छन् ।

अहिले विभागहरु गठन भए पनि त्यसले काम नगर्ने महाधिवेशनपछि नयाँ गठन गर्नुपर्ने भएकाले आवश्यकता नरहेको उनीहरुको तर्क थियो । तर देउवाले उनीहरुको माग सुनुवाई गरेनन्, आफू निकट नेताहरुको सल्लाहमा गठन गरे ।

Logo