प्रचण्डको नेतृत्वलाई एमालेले स्वीकार्दैन -सूर्य थापा

प्रचण्डको नेतृत्वलाई एमालेले स्वीकार्दैन -सूर्य थापा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वलाई एमालेले स्वीकार नगर्ने बताएका छन् । उनले मुलुकमा स्थिरताका लागि कांग्रेस-एमाले मिलेर सरकार चलाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।

बुटवलमा बिहीबार पत्रकारहरूसँगकाे कुराकानीमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य थापाले बामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताएका हुन् । 'प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले लाग्दैन,' एमाले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउँछ, नभए कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ,'  उनले भने।

यदि एमालेले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्याे भने आफ्नो असहमति रहने र 'नोट अफ डिसेन्ट' लेख्ने थापाले बताए । विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्वीकार गर्न नसकिने थापाको तर्क छ ।

उनले मुलुकको विद्यमान निर्वाचन प्रणालीबारे बहस चलाउनुपर्ने आवश्यकता पनि औंल्याए । संविधान जारी गर्ने बेलामा अहिलेको निर्वाचन प्रणालीको चर्को वकालत गर्नेहरू कसको इशारामा चलेका थिए भन्ने पुष्टि क्रमशः हुँदै गएको थापाले बताए । नेपालमा अस्थिरता निम्त्याउन स्वार्थको रोटी सेक्ने तत्वहरू अहिलेसम्म सफल भएको उनकाे भनाई छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य थापाले आफूलाई विकासको 'सिस्टम' बसाउन चाहेको भन्दै यसका लागि अधिकतम प्रयास गर्ने बताए । प्यूठानमा स्वर्गद्वारी विमानस्थल निर्माण गरिने उल्लेख गर्दै उनले यसको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

प्यूठानमा विमानस्थल चल्दैन भन्नेहरूलाई जवाफ दिँदै थापाले भने- 'सोलुखुम्बुमा सात वटा विमानस्थल छन्, प्यूठानमा नचल्ने प्रश्नै आउँदैन, पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने हो भने हवाई मार्ग हुँदै स्वर्गद्वारीमा लाखौं पर्यटक भित्र्याउन सकिन्छ ।'

Skip This
Skip This
Logo