निर्वाचन आयोगले लुम्बिनी प्रदेश प्रमुखलाई प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम निर्वाचन परिणाम प्रतिवेदन बुझाएको छ ।
शनिवार निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई निर्वाचनको अन्तिम परिणाम प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझाएपछि निर्वाचन आयुक्त भण्डारीले लुम्बिनी प्रदेशमा २२ वटा राजनीतिक दलहरुको धरौटी जफत भएको बताए ।
उनले भने- ‘निर्वाचन सुसम्पन्न गर्नका लागि हामीलाई सबै क्षेत्रबाट सहयोग भएको छ । हामीले यस पटकको निर्वाचनमा स्थानीय तहको र प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा धेरै सहयोग भएको छ । लुम्बिनी प्रदेशको प्रदेश सभातर्फ ८७ जना निर्वाचित हुनुभएको छ, जसमा पुरुष ५४ र महिला ३३ जना हुनुहुन्छ । प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ ३२ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।’
त्यस्तै, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सम्पूर्ण विवरणसहितको नामावली आएको भए प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयलाई सहज हुने बताए । उनले संवैधानिक प्रक्रिया भित्र नै रहेर प्रदेशले आगामी कार्यक्रमहरु अघि बढाउने बताए ।
गत मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनको मत परिणाम आज (शनिवार) एकैसाथ प्रदेश प्रमुखहरुलाई बुझाइएको हो । प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ ।





























प्रतिक्रिया