राप्रपालाई सरकारमा जान हतारो छैनः अध्यक्ष लिङ्देन

राप्रपालाई सरकारमा जान हतारो छैनः अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । 

सोमवार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् । उनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताए । 

उनले भने– ‘सरकार निर्माणको प्रक्रिया शुरु भएको छ । राष्ट्रपतिबाट आह्वान भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । कोही पनि हाम्रो साथीहरुले आत्तिनुपर्दैन । नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनुपर्दैन । हामी सोचि, विचारी निर्णय गर्छौ । अहिले न हामीलाई सरकारमा जान हतारो छ । न सरकारमा नजाने भनेर हामीले कसम खाएरै आएका छौँ । के गर्दा उपयुक्त हुन्छ । के गर्दा हाम्रो मान्यताहरु स्थापित हुन सक्छन् । के गर्दा देश र जनताको अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । त्यो सोचेर, बिचार गरेर हामी निर्णय गर्छौ । हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ । हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुप-यो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ । त्यसमा तपाईहरु सबै ढुक्क रहन आग्रह गर्छु ।’ 

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा शुरु भएको बताए । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडी बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । 

उनले भने- ‘यो परिणामबाट म खुशी छैन । मैले परिकल्पना गरेको परिणाम यो होइन । मैले यतिको मात्रै अपेक्षा गरेको थिइनँ । मैले नैतिक रुपमा म अध्यक्षबाट राजीनामा दिएँ भनेर हालिदिउँ कि जस्तो लागेको थियो । यति सिटको राप्रपा कल्पना गरेको थिइनँ । म इमान्दारीपूर्वक भन्छु यो परिणामबाट म उज्यालो छैन । खुशी छैन । यो परिणाम आउन अध्यक्षको हिसाबले म जिम्मेवार छु । हामीले ठिक ढंगले आफूलाई परिचालित गर्न सकेनौँ । प्राविधिक रुपमा मत जित्न नसकेपनि हामीले मन जितेका छौँ । हामी प्रति आशा पलाएको छ । साथीहरुमा निराशा थियो । त्यस्तो साथीहरुलाई अहिले धेरै आयो नि भन्ने छ । तर हामीले ल्याउनुपर्ने यति मात्रै होइन । जित्नुपर्ने यति मात्र होइन । हामीले जे परिणाम प्राप्त गरेका छौँ । त्यसको जगमा टेकेर आगामी दिनमा राप्रपालाई मुलुकको पहिलो शक्ति बनाउँछौँ । राप्रपा मुलुकको पहिलो शक्ति बन्छ र हामीले हाम्रो जीवनकालमै हामीले हाम्रो मान्यताहरु स्थापित गर्छौं ।’ 

अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दुतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिए । दुतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे । 

पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको उनले बताए । पार्टीमा नयाँ मानिसहरुलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उनको भनाई छ । पार्टी सदस्यहरुले पनि कडाइपूर्वक पार्टी अनुशासनको पालना गर्नुपर्ने उनले बताए । 

Skip This
Skip This
Logo