नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई बधाई र शुभकामना दिन प्रज्ञा प्रतिष्ठानमा मंगलबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मरेका मान्छेहरुले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउन नदिएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकीर गरेका हुन् ।
‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरुको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन । कानुनसम्मत र कर्तव्यनिष्ठ भूमिका पूरा गरे त्यस्ता निकायहरुले भन्ने अवस्था रहेन । धाँधली भएका ठाउँमा, बुथ क्याप्चर भएका ठाउँमा सबैलाई थाहा छ–बुथ क्याप्चर भएको छ । प्रमाणहरु छन । तर दोहो-याएर निर्वाचन गरिएन । जे भएको छ, त्यही गन्ने भनियो । नेपालजस्तो ठाउँमा ९८ प्रतिशत, ९९ प्रतिशत निर्वाचनमा भोट खस्नु, मरेका मानिसले भोट हाल्नु, विदेश भएकाले भोट हाल्नु जस्ता कुराहरु भए । देख्नुपर्ने ठाउँबाट ती देखिएन । नदेखैझैं गरियो । यो वास्तवमै दुखद कुरा हो ।’ उनले भने ।
उनले अगाडि थपे- ‘यदि यस्ता कुराहरुलाई रोक्न सकिएन भने जनताको विश्वास लोकतान्त्रिक अभ्यासप्रति वितृष्णा बढदै जान्छ । र, विस्तारै प्रणालीप्रति नै यो विश्वास कमजोर हुँदै जान्छ । यस्ता प्रवृत्तिहरुलाई नरोक्ने हो भने । यस्ले विस्तारै विस्तारै अभ्यासलाई मात्रै होइन् प्रणालीप्रतिकै विश्वास हटाई दिने, प्रणालीलाई नै अलोकप्रिय बनाई दिने र असफल बनाई दिने हुन्छ ।’
कार्यक्रममा ओलीलाई सबैभन्दा धेरै लोकप्रिय मत ल्याएको भन्दै सम्मान समेत गरिएको थियो ।





























प्रतिक्रिया