नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
सत्तारुढ गठबन्धनले सरकार गठनका लागि अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै आफ्नो पार्टी त्यसको विरुद्धमा रहेको समेत अध्यक्ष ओलीले बताए । मंगलबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी सत्तामा रहेपनि, प्रतिपक्षमा रहेपनि राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने बताए ।
अध्यक्ष ओलीले देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सत्तारुढ दलहरु सरकार बनाउने खेलमा लागि परेकाले त्यसमा आफ्नो पार्टी सामेल हुन नचाहेको पनि बताए ।
‘सरकार के का लागि भन्ने हामीले सुनिराख्या छैनौं । को प्रधानमन्त्री हुने ? को राष्ट्रपति हुने ? कसले प्रधानमन्त्री छोडदिन भन्यो रे । अर्कोले म पनि छोड्दिन भन्यो रे । यस्तै कुरामा सरकार गठन अड्किएको छ । गठन हुँदा पनि यस्तै कुराको लेनदेनबाट सरकार गठन हुने हो ।’ उनले भने, ‘विचारका लागि, उद्देश्यका लागि, गन्तव्यका लागि, देशका लागि, जनताका लागि, सुशासनका लागि, विकासका लागि सरकार बनिराखेको छैन । सरकार बन्ने प्रयासहरु अहिले कसरी भईराख्या छ ? नेकपा (एमाले) बाहेकका दलहरुको कुरा भन्ने हो भने आज दलहरु नेताका स्वार्थ, लोभ र पदीय आकांक्षाका बन्धक बनेका छन । त्यो भन्दा बाहिर जान सक्दैनन् । किनभने उनीहरुसँग विचार छैन । उद्देश्य छैन, गन्तव्य छैन । हालत त्यो छ ।’
उनले अगाडि थपे- ‘सरकार गठनको यस्तो अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यासप्रति हाम्रो पार्टी नेकपा (एमाले) पूर्णरुपमा असहमत छ । र, त्यसको विरुद्धमा छ । हामी सत्ता अथवा प्रतिपक्ष जहाँसुकै रहूँ । सत्तामा रहुँ वा प्रतिपक्षमा । जहाँ भएपनि हामी राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, सुशासनयुक्त कानुनी राज, आर्थिक र सामाजिक विकास, सामाजिक न्याय र समानता, शान्ति सुव्यवस्थालगायत नागरिक सम्मान एवम् राजनीतिक, सामाजिक स्थिरता र स्थायित्वको पक्षमा दृढतापूर्वक उभिन्छौं ।’































प्रतिक्रिया