रवि लामिछानेको दोस्रो एक्सन

रवि लामिछानेको दोस्रो एक्सन

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने एकपछि अर्को जनमुखी काममा लागिपरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको तीनदिन भित्रै मन्त्री रविले अनुशासनहीन काम गर्ने सुरक्षाकर्मीहरुमाथि निगरानी बढाउने र दोषी देखिए डण्डा वर्षाउने निर्णय गरेका छन् । उनले दोस्रो एक्सनका रुपमा नेताका घरदैलो धाउने सुरक्षाकर्मी र सुरक्षा सम्बद्ध कर्मचारीलाई कार्बाही गर्ने निर्णय गरेका हुन् ।  

मन्त्री लामिछानेले कुटनीतिक नियोग र नेताहरुको घरदैलो चाहर्ने सुरक्षाकर्मीलाई कार्बाही गर्ने बताएका छन् । मन्त्रालय सम्हालेको ३ दिन बित्न नपाउँदै मन्त्री लामिछानेले अर्को एक्सन लिएका हुन् । प्रहरी कर्मचारीले नेता र कुटनीतिक नियोगका प्रतिनिधिलाई भेटी अनुचित अवसर लिने गरेको चर्चा व्यापक हुन थालेपछि उनले एक्सन लिएका हुन् । नियमित काम नगरी शक्तिकेन्द्र धाउने र सहकर्मीहरुमाथि अन्यायपूर्ण व्यवहार हुने गरेकोले यसको विरोध हुँदै आएको थियो । तर समस्याको समाधान हुन सकेको थिएन । सुरक्षा सम्बद्ध संगठनमा मौलाउँदै गएको विकृति रोक्न गृह मन्त्रालयले कडा कदम चालेको हो ।  

गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूलाई कुटनैतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्णय गरेको छ । स्पष्ट प्रयोजन र विभागीय स्वीकृति नलिइकन सुरक्षाकर्मी पदाधिकारीले त्यस्तो भेटघाट गर्न नपाउने निर्देशन जारी गरिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

यसअघि पनि सुरक्षा निकायका उच्च तहका अधिकारीलाई भेटघाटमा कडाइ गर्ने निर्णय भएपनि कार्यान्वयनमा आएको थिएन । विभागीय स्वीकृति लिएर भेट गरेको वा नगरेकोबारे अनुगमन गर्न गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निर्देशन गरेको छ ।विभागको अनुमति नलिइ र स्पष्ट प्रयोजनबिना भेटघाट गरेको पाइए अनुशासनसम्बन्धी कारबाही गरिने गृहमन्त्रालयले चेतावनी दिएको छ ।

यसअघि रवि लामिछानेले वर्षौदेखि कार्यान्वयन हुन नसकेको सुरक्षाकर्मीका हाकिम र पूर्वकर्मचारीले साना तहका कर्मचारीलाई घरमा कजाउने प्रथा बन्द गराउन ४८ घण्टे अल्टिमेटम नै दिएका थिए । मन्त्री रविले राजनीतिमा आउनु अघि टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा रहँदा विकृति र विसंगति विरुद्ध निरन्तर आवाज उठाएका थिए । कानुन कार्यान्वयनको मुख्य थलो गृह मन्त्रालयको जिम्मेवारीमा रहेपछि रवि लामिछानेलाई सुशासन कायम गर्ने दवाव पनि बढेको छ । 

२ दशक लामो सञ्चारकर्मपछि सक्रिय राजनीतिमा लागेका लामिछाने हालै सम्पन्न निर्वाचनमा आफ्नो दल रास्वपालाई स्थापित गराउन सफल भएका छन् । युवा, राजनीतिमा नयाँ अनुहार र केही गर्ने जोश जाँगर भएको भनी मतदाताले विश्वास गरेको रास्वपाले यसपटक संसदमा २० सांसदलाई प्रतिनिधित्व गराएको छ ।

Skip This
Skip This
Logo