नेकपा (एकीकृत समाजवादी) का अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन् ।
शनिवारदेखि जारी नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । जारी बैठकमा अधिकांश सदस्यले विगतमा सहकार्य गरेको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने मत राखेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले बताए ।
एकीकृत समाजवादीले सरकारलाई समर्थन नगरेपनि सरकारले निरन्तरता लिने भएकाले समर्थन गर्नु उपयुक्त हुने अधिकांश नेताहरुको धारणा रहेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले सरकारमा सहभागि हुन औपचारिक रुपमा प्रश्ताव नपठाएको खण्डमा पार्टी सरकारमा भने जानु नहुने नेताहरुले निस्कर्ष निकालेका छन् ।
‘सरकारलाई समर्थन दिने सन्दर्भमा चाहीँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको जस्तो देखिएपनि मुल रुपमा यो एउटा खिचडी सरकारजस्तै बन्न गएको छ । र यसमा हामीले समर्थन दिने वा नदिनेको कुराको के अर्थ रहन्छ ? हाम्रो पार्टीले समर्थन दिनुपर्छ कि पर्दैन भन्ने कुरा त्यहाँबाट हामीले हेर्नुपर्छ भन्ने खालको कुरा नै आएको छ ।’ उपमहासचिव तुलाधरले भने, ‘गठबन्धन तोडेर अर्को गठबन्धन बनाउन पुगेका प्रचण्डजी नै प्रधानमन्त्री भएका कारणले गर्दाखेरी हामीले समर्थन दिनु उपयुक्त हुन्छ कि भन्ने अलि धेरै साथीहरुले त्यसरी पनि बोल्नुभएको छ । त्यसलै अहिले यसै भन्न सकिँदैन कि निर्णय यही भइहाल्छ भनेर । तर बोल्नुहुने सबै साथीहरुको ट्रेण्ड हेर्दाखेरी अहिले सरकारमा जान हतारिनु पनि हुँदैन ।’
उपमहासचिव तुलाधरले एकीकृत समाजवादीका नेता, कार्यकर्ताहरुलाई भ्रममा पार्नका लागि एमालेका मान्छेहरुले पार्टी एकताको हल्ला चलाएका बताए । पार्टी एकताको हल्ला चलाएर एकीकृत समाजवादीको कार्यकर्ताहरुलाई भुलभुलैयामा राख्ने षड्यन्त्र भइरहेको उनले बताए ।
उनले भने ‘पार्टी एकताका सवालमा जे खालका चर्चा चलिरहेको छ, त्यो चर्चा नेकपा (एमाले) का केही मान्छेहरुले मात्र चलाएका कुराहरु हुन् । त्यसमा कुनै पनि हिसावले त्यो भ्रममा हामी पर्नुहुँदैन । हामी यसबाट जोगिनुपर्दछ । एकता हुन्छ भनेर हाम्रो कार्यकर्ता पंक्तिलाई भुलभुलैयामा राख्ने खालको जस्तो जुन षड्यन्त्र भइरहेको छ, यसबाट प्रष्ट हुनुपर्छ अहिले एकताको कुनै प्रयास उताबाट पनि भएको छैन र यताबाट पनि भएको छैन । अनौपचारिक रुपमा कुराहरु कहीँ कसैले गरिरहेका छन् भने त्यो बेग्लै कुरा हो भन्ने ढंगले कुराहरु उठेका छन् ।’
उपमहासचिव तुलाधरले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति दिएर एमालेले पार्टी एकता गराउन लागेको भन्ने कुरालाई हावाको संज्ञा दिए । एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउने प्रश्ताव यति छिट्टै नराख्ने उनको भनाई छ ।
उनले भने, ‘कहाँबाट कसरी आयो, यो हावामै आयो । हावामै गयो जस्तो लाग्छ । त्यति सजिलोसँग नेकपा(एमाले)को तर्फबाट फेरि माधवकुमार नेपाल त्यो पनि एकीकृत समाजवादीका अध्यक्षलाई यस्तो ठूलो प्रश्ताव यति छिट्टै सजिलोसँग राख्लान् जस्तो लाग्दैन । त्यो गरेको पनि हो जस्तो मलाई लागिराखेको छैन । त्यस्तो खालको चर्चा कतै भएको भए हाम्रो पक्तिलाई भ्रमित पार्नको निम्ति ग¥यो भन्ने जस्तो लाग्छ ।’
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पार्टी केन्द्रिय कार्यालयमा जारी छ । बैठक आज साँझसम्म बस्ने एकीकृत समाजवादीका उपमहासचिव तुलाधरले जानकारी दिए ।































प्रतिक्रिया