काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ गुटले आयोजना गर्न लागेको सम्पादकहरुसँगको छलफल कार्यक्रम स्थगित भएको छ । शुक्रबार राजधानीको एक होटलमा गर्ने भनिएकोे बैठक प्रचण्डका कारण स्थगित गरिएको हो ।
सरकार विरोधी सम्पादकहरुसँगको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय नेपाल र खनाल तथा श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम तय भएको स्रोतको दाबी छ । सम्पादकहरुसँग सुझाव लिइ सोहीअनुसार आगामी रणनीति तय गर्ने योजना बनाइएको थियो । त्यसैले सरकारको खुलेरै आलोचना गर्दै आएका सम्पादकहरुलाई मात्र उक्त कार्यक्रममा बोलाइएको स्रोतले जनाएको छ ।
आजका लागि तय भएको सम्पादकहरुसँगको बैठक स्थगित भएको संकेत प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि गरेका थिए । उनले शुक्रबार एक अनलाइनसँग भनेका छन्–‘ शुक्रबार ओलीइतर पक्षहरुले सम्पादकहरूसँग छलफल राख्नु भएको थियो, अहिले रोकिएको खबर आएको छ ।’
त्यस्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीइतर समूहले बुधबार राजधानीको एक कलेजमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा ओलीइतर समूहका १ सयभन्दा बढी पत्रकारहरुलाई बोलाइएको थियो । उपस्थित पत्रकारहरु नेकपा रिर्पोटिङ गर्नेभन्दा पनि दाहाल–नेपाल पक्षको रिर्पोटिङ गर्ने रहेका थिए ।
स्रोतको दावी अनुसार शुक्रबार बिहान कार्यकारी अध्यक्ष प्रचण्ड र नेकपा संसदीय दलका उपनेता एवं ओलीका विश्वास पात्र सुवासचन्द्र नेम्वाङ बीच भेटवार्ता भएको थियो । सोही भेटवार्तामा सम्पादकहरुसँग गर्न लागिएको छलफल रोक्न सहमति जुटेको हो । आजको भेटमा नेम्वाङले पार्टी संकटमा परेका बेला यस्ता छुटाछुटै भेला गर्दा पार्टी दुर्घटनामा जाने बताएका थिए । नेम्वाङको उक्त ब्रिफिङपछि मनस्थिती बदलेका प्रचण्डले तत्कालै सम्पादकहरुसँग गर्न लागिएको छलफल कार्यक्रम स्थगित गर्न दबाब दिएका थिए ।
नेपकाको विवाद पछिल्लो समय सतहमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता र पार्टी प्रभावकारी रुपले चलाउन नसकेको भन्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरिएको थियो । ओलीको राजीनामा माग गर्नेहरुमा दाहाल–नेपाल पक्षका नेता रहेका छन् । तर प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् । दाहाल–नेपाल पक्षले टाउकाे गनेर आफूलाई पदच्यूत गर्न खोजे पार्टी विभाजन गर्ने उनको चेतावनी समेत छ । दुवै पक्ष आ–आफ्नो अडानमा टसकोमस नहुँदा नेकपा विवाद पछिल्लाे समय झनझन बढ्दै गएको छ ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षका नेता तथा कार्यकर्ता आ–आफ्नो माहोल बनाउन दौडधूप गरिरहेका छन् । सोही दौडधूप अनुसार दुवै पक्षले कहिले पत्रकारसँग भेटघाट, कहिले सम्पादकसँग छलफल र दिनकै आफू अनुकूलका पात्रसँग कोठे बैठक गर्दै आएका छन् ।





























प्रतिक्रिया