वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो । सो क्रममा सरकार संचालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एमालेका अध्यक्ष केपी शर्मा ओलीले साझा न्यूनतम कार्यक्रम तयार गर्दै प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।
सत्ता साझेदार दलले कार्यदल नै बनाएर न्यूतम साझा कार्यक्रम तयार पारिएको थियो ।
सरकारले मुलुकमा दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने घोषणा गरेको छ । साथै वर्तमान सरकारले भ्रष्टाचार र अख्तियारको दुरूपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउने घोषणा गरेको छ ।
कार्यदलका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले भ्रष्टाचारी एक दिन कानूनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने पनि प्रतिवद्धता जनाए । उनले नेपालको समग्र औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च व्याजदर, बढ्दो व्यापार घाटा, न्युन पुँजीगत खर्च, घट्दो राजश्व सङ्कलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजीवजारमा आएको गिरावटलगायतका समस्यालाई औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने बताए ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूवीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यकता नीति वा प्रक्रियागत सुधार गर्ने बताए । राजश्व प्रशासनलाई थप चुस्त, दुरुस्त तथा करदातामैत्री बनाउने उनले घोषणा गरे । उनले कर छली, आयातमा न्युनबिजकीकरण, चोरी पैठारी, तस्करी तथा हुण्डी कारोबारजस्ता गतिविधिको अन्त्य गर्ने घोषणा गरे ।































प्रतिक्रिया