सत्याग्रहमा बसेका युवाको माग तत्काल पूरा गर्न कांग्रेस नेता जोशीको आग्रह

सत्याग्रहमा बसेका युवाको माग तत्काल पूरा गर्न कांग्रेस नेता जोशीको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले वसन्तपुरमा १८ दिनदेखि सत्याग्रह बसेका युवाको माग तत्काल पूरा गर्न आग्रह गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गरी कोभिड–१९ नियन्त्रणका लागि पारदर्शी एवं प्रभावकारी उपचारको माग राख्दै १८ दिनदेखि सत्याग्रह बसेका युवाको माग तत्काल पूरा गर्नुपर्नेमा जोड दिएका हुन् ।

“कोभिड–१९ को प्रभावकारी उपचारको माग राखी अनशन बसेका युवाको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको छ, यी आन्दोलनकारीको मागप्रति प्रतिष्ठान ऐक्यबद्धता व्यक्त गर्दछ, सरकारले आन्दोलनकारीको माग तत्काल पूरा गर्नुपर्छ”, अध्यक्ष जोशीले भने ।

प्रतिष्ठानले पिसीआर परीक्षणको दायरा बढाउनु पर्ने, क्वारेन्टिन र उपचारको क्षमता र गुणस्तर अभिवृद्धि गर्नु पर्ने, जोखिममा रहेका समुदायलाई उपचार र सहयोगका साथै रोजगारीको सुनिश्चितता गर्नु पर्ने, भारत लगायत अन्य मुलुकबाट आएकाको अनिवार्य पिसीआर परीक्षण गरी क्वारेन्टिनको उचित व्यवस्थापन गर्नु पर्ने बताएको छ ।

अध्यक्ष जोशीले अस्पतालको क्षमता वृद्धि गर्दै पिसीआर परीक्षण र सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमार्फत सङ्क्रमणको उच्च जोखिमस्थल पहिचान गरी आवश्यक सावधानी अपनाउनु पर्ने उल्लेख गरे । सङ्कटको घडीमा आम नागरिकको सुरक्षा पूरा गर्ने दिशातर्फ सरकार गम्भीर हुनु पर्ने उनको भनाइ छ ।

प्रतिष्ठानले आम नागरिकलाई सामाजिक दूरी कायम राख्दै, मास्क लगाउने, साबुनपानीले हात धुने र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रहसमेत गरेको छ ।रासस

Logo