‘फोकल्यान्डको टापुको लडाइँबाट बचेर आएको यही दिन देख्न रहेछ’

‘फोकल्यान्डको टापुको लडाइँबाट बचेर आएको यही दिन देख्न रहेछ’

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भुइँ तहबाट राज्यको उच्च निकायका पुग्ने थोरै भोजपुरेमध्येको एक हुन् । 

नेकपा (माओवादी केन्द्र)का नेता किराती पछिल्ला तीनवटा निर्वाचनमा लगातार भोजपुरबाटै विजयी भएका थिए । विसं २०६४ को संविधानसभा निर्वाचनमा २९ वर्षको उमेरमा नै संविधानसभा सदस्यमा निर्वाचित भएका किराती संविधान निर्माणमा सक्रिय सहभागी भए । प्रतिनिधिसभा सदस्य भए पनि नियमित भोजपुर पुग्ने र जनतासँग घुलमिल गर्ने उजको स्वभावलाई धेरैले मन पराएका छन् । 

माओवादी आन्दोलनका क्रममा नौ वर्ष भूमिगत भएका किराती जनशैली पछ्याउने थोरै नेतामध्ये एक हुन् । पूर्वेली लवजमा बोल्ने, जनताले जे खोज्छ त्यस्तै रुपमा प्रस्तुत हुने किरातीको स्वभाव आफैँमा अनुकरणीय रहेको माओवादीका नेता तथा कार्यकर्ताको टिप्पणी छ । 

विसं २०६१ बाट २०६३ सम्म २३ महिना बन्दी जीवन बिताएका किरातीले २०७४ र २०७९ मा पनि सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

हर्कबहादुर राई र माताको नाम रक्षाकुमारीको सुपुत्रका रुपमा विसं २०३५ फागुन २२ गते भोजपुरको ओख्रेमा जन्मिएका हुन् किराती । विसं २०४६ को जनआन्दोलनपछि विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिमा प्रवेश गरेका उनको शैक्षिक योग्यता भने विद्यालय तह बराबर छ । 

मन्त्री बन्ने भएपछि उनले आज आफ्ना पिता हर्कबहादुरसँग गरेकाे भावनात्मक संवाद सार्वजनिक गरेका छन् । किराती आज अस्पताल पुग्दा उनका पिता शय्यामा आराम गरिरहेका थिए । डाँडाको जुन घाम जस्तै बुबासँग कुराकानी गरेको सार्वजनिक गरेको भन्दै उनले सामाजिक सञ्जालमा सोही भावनात्मक संवाद उल्लेख गरेका छन् । 

फोकल्यान्डको टापुको लडाइँबाट बचेर आएको यही दिन देख्न रहेछ भन्दै हर्कबहादुरले खुसी व्यक्त गरेका छन् । पिताले मन्त्री बनेको पत्याएका छैनन् र सुदनलाई सोध्छन्, “हँ  होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो ?” 

डाँडाको जुन घाम जस्तै बुबासँग कुराकानी-  

मैले भने, “बुबा म मन्त्री हुने भएँ छु  ।”

बुबाः “हँ, होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि विपना हो ?”

किराती भन्छन्,  “म हो बुबा साँच्चै हो बिपना नै हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।” 

बुबाः “मन्त्री चाहिँ कसरी भइस् ? कसले गर्दा भइस् ?” 

मः “पहिलो त तपाईंहरुले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दुःख गरेँ, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास ग-यो ।” 

बुबाः “राम राम राम… म उहिले फोक्लेन्डको लडाइँमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थेँ  ।”

मः “म पनि जनयुद्धमा मरेको भए त्यस्तै त हो ।” 

बुबाः “हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौँ राम्रो गर्नु ।” 

मः  “पाउनु ठूलो कुरा होइन काम गर्नु ठूलो कुरा हो । म मेहनत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामीसँगै हुन पाएको भए ।” 

बुबाः “म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनिदिउँला ।” बुबा रुनु भो 

म : “सम्झे बुबाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रुनुभएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसङ्ग बेग्लाबेग्लै थियो, आँसु भने उस्तै, आँसुको मुहान र भाव भने फरक ।” 

Skip This
Skip This
Logo