उपसभामुखको उमेदवार टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक जारी

उपसभामुखको उमेदवार टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक जारी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा उपसभामुखको टुंगो लगाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी बैठकले उपसभामुखको उमेदवार कसलाई बनाउने भन्ने टुंगो लगाउने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । कांग्रेसले उपसभामुख पदमा उमेदवारी दिने तयारी गरेको छ । प्रतिनिधिसभाको उपसभामुखका लागि आज उमेदवारी मनोनयन दर्ता गरिने कार्यतालिका छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले उमेदवारी दिने तयारी गरेको बताए । कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका अरू दलबाट उमेदवारी दिने भनिए पनि त्यो सम्भव हुने अवस्था नरहेको उनको भनाइ छ ।

“अरू दललाई दिने भनिएको थियो, जसले हिजो हामीलाई सहयोग गरे । तर, उनीहरूसँग महिला उमेदवार भएनन्, नेकपा (एस) र लोसपा सँग । अर्को कुनै दल गठबन्धनमा आए उमेदवार बनाउने हो,” उनले बाह्रखरीसँग भने, “सभामुख पुरुष भएकाले अब महिला उमेदवार चाहिने भयो । अहिलेको परिस्थिति हेर्दा कांग्रेसलेनै उमेदवारी दिन्छ । हामी सल्लाह गर्दै छौँ । केही बेरमा बैठक बसेर टुंगो लगाउँछौँ ।”

सभामुख पदको निर्वाचनमा कांग्रेस उमेदवारलाई नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सघाएका थिए । ती पार्टीबाट उपसभामुखको उमेदवार बनाउने पूर्वतयारी थियो । सभामुखमा नेकपा (एमाले)का सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन् । अब उपसभामुखमा महिला उमेदवार हुनुपर्नेछ । प्रवक्ता डा. महतका अनुसार उपसभामुखमा उमेदवारी दिन एकीकृत समाजवादी र लोसपामा महिला सांसद नभएकाले कांग्रेस नै अघि सर्न लागेको हो ।

Skip This
Skip This
Logo