नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनपर्नेमा जोड दिएका छन् ।
मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सचिव भट्टराईले केही समस्या भएमा निर्वाचन आयोगले समाधान गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘पाँच वर्षको समयअवधिभित्र राष्ट्रपतिको निर्वाचन गर्ने । निर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने हो नेपाल सरकारको राय सल्लाहमा । तोकेको मितिमा नेकपा(एमाले) तयार नै छ । एमालेसँग यसमा विवाद गर्नुपर्ने कुनै विषय पनि छैन । हामी त्यसको विवाद र बहसमा तानिएका पनि छैनौँ । केही समस्या छ भने निर्वाचन आयोगले फुकाओस् र छिटोभन्दा छिटो तोकिएको समयभित्र राष्ट्रपतिको निर्वाचन होस् ।’
सचिव भट्टराईले राष्ट्रपति पदका लागि विपक्षी दलका नेताहरुले राष्ट्रिय सहमतीको कुरा गर्नु साँघुरो चिन्तन भएको टिप्पणी गरे । उनले राष्ट्रिय सहमति एजेण्डा र संवैधानिक प्रक्रियामा गर्नुपर्ने बताए ।
‘मेरो सोधाई के छ भने रामचन्द्र दाईलाई पौष १० गते अगाडी त यो गीत गाउनु भएन उहाँले । यो गित अचानक पौष १० गते पछाडी किन आयो ? राष्ट्रिय सहमति हुनुपर्छ ।’ उनले भने, ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुहुन्न भन्ने हाम्रो भनाई होइन । तर राष्ट्रिय सहमति भनेको पदको बाँडफाँट होइन । राष्ट्रिय सहमति भनेको एजेण्डामा सहमति हो । संवैधानिक प्रक्रियामा सहमति हो । पदीय बाँडफाँटमा राष्ट्रिय सहमति एकदमै साँघुरो चिन्तन हो । रामचन्द्र दाईजस्तो एउटा वरिष्ठ नेताले त्यो आशयले बोल्नुभएको हो कि होइन मलाई थाहा छैन । तर राष्ट्रिय सहमतिलाई यति हल्का रुपमा नलिऔँ ।’





























प्रतिक्रिया