कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बाढी पहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण गरेका छन् । उनले सोमबार साँझ बाढी पहिरो प्रभावित क्षेत्र लमजुङस्थित दोर्दी गाउँपालिका–८ दुवार गाउँमा स्थलगत निरीक्षण गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले बाढी पहिरोले गर्दा नागरिकले पाएको समस्याको समाधानतर्फ प्रदेश सरकार लागिरहेको बताउँदै बस्तीका लागि आवश्यक सहयोग गरिने आश्वासन दिए । जनताको जीउ धनको सुरक्षा गर्ने जिम्मा सरकारको रहेको भन्दै प्रदेश सरकार सधैँ जनताको साथमा रहेको उनले प्रस्ट समेेत पारे । प्रदेशका मुस्ताङ र मनाङबाहेक नौ वटै जिल्लामा बाढी पहिराले करिब ५ सय घरमा क्षति पु¥याएकाले प्रदेश सरकारले तिनको पुनः निर्माण गरिदिने उनको भनाइ छ ।
दुवार गाउँका बाढी पहिराबाट प्रभावित वासिन्दाले मुख्यमन्त्री गुरुङसँग गाउँमा बस्न उच्च जोखिम रहेको र उचित स्थानमा पुनः स्थापना गरिदिन आग्रह गरेका थिए । पहिरोको जोखिम रहे पनि तत्काल कतै जाने ठाउँ नभएकाले बाढी पहिरोको बेवास्ता गर्दै ज्यानको बाजी राखेर दिनरात कटाउँदै आएको उनीहरुको भनाइ छ ।
गत असार २६ गते आएको अविरल वर्षासँगैको बाढी पहिराले दुवार गाउँका छ घर पूर्णरुपमा ध्वस्त बनाएको छ भने ७० घर उच्च जोखिममा रहेका छन् । बाढी पहिराले गाउँका कुनै घर चर्किने, कुनै ढल्किएको अवस्थामा रहेको वडाध्यक्ष तुलबहादुर घलेले बताए। बस्ती बीचमा पानीको मूलसमेत पलाएकाले थप जोखिम भइरहेको उनको भनाइ छ ।
निरीक्षणमा मुख्यमन्त्री गुरुङसहित गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक मायानाथ अधिकारी, सांसद मधुमाया अधिकारी र धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सहभागी थिए ।
त्यस्तै राष्ट्रिय युवा सङ्घको पहलमा दोर्दी गाउँपालिकाका युवाहरुले बाढी पहिरो पीडितलाई खाद्यान्न सहयोग गरेका छन् । मुख्यमन्त्री गुरुङले बाढी पहिरो पीडितलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए । सङ्घमा आबद्ध युवाहरुले रकम सङ्कलन गरेर ४५ बोरा चामल, ४५ बोरा तेल र ४५ प्याकेट नुन सहयोग गरेका थिए ।–रासस





























प्रतिक्रिया