राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पुनः पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता पुनःप्राप्त गरेका लामिछानेलाई आजै रास्वपाको केन्द्रीय समिति बैठक बसेर सभापति पदमा चयन गर्ने तयारी गरिएको हो । बैठक दिउँसो ३ बजे डाकिएको छ ।
अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए । त्यसपछि पार्टीको कार्यवाहक सभापति पदको जिम्मेवारी उपसभापति डोलप्रसाद आचार्यलाई दिइएको थियो ।
प्रतिक्रिया