नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन् ।
एमाले महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निःवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका हुन् । आईतवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लामिछानेको नागरिकता प्रकरणले सत्ता समिकरणमा फेरबदल नहुने स्पष्ट पारे । उनले राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण नबिथोलिने भन्दै समस्याहरुको समाधान गरिने बताए ।
‘थुप्रै व्यक्तिहरु पिआर लिएर विदेशमा बसेकाहरु फर्केर आउँदाखेरी स्वतः नेपाली नागरिक भएका छन् । कसैले प्रश्न उठाएको छ र ? पिआर लिएका व्यक्तिहरुले पिआर परित्याग गरेको घोषणा गरेर त्यसपछि फेरि नयाँ प्रक्रियाबाट नागरिकता प्राप्त गरेको सुन्नुभएको छ ? तर रवि लामिछानेको हकमा यसलाई विषय बनाइयो ।’ उनले भने, ‘किन बनाइयो भन्दाखेरी कतै यो विषयलाई अगाडी बढाएर सत्ता समिकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो । तर यसले उनीहरुले सोचेजस्तो काम गर्दैन । किनकी राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले विथोलिने होइन । राजनीति भनेको त्यो भन्दा माथिको चिज हो । त्यस अर्थमा हामी यसलाई राजनीतिक ढंगले ट्याकल गर्छौं । समाधान गर्छौं भन्नेकुरा नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ ।’
महासचिव पोखरेलले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक रहेको टिप्पणी गरे । उनले अदालतमा त्यस्तै प्रकृतिका मुद्दाहरुको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडी नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरुको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताए ।
‘प्रधानन्यायाधीशको महाअभियोग प्रकरणका सन्दर्भमा संसदले लेखेको पत्रका बारेमा सर्वोच्चको सक्रियता अस्वभाविक देखियो । अहिले रवि लामिछानेजीको विषयमा उसको न्यायिक सक्रियता प्रशंसा गर्न लायक छ भन्नुपर्छ ।’ उनले भने, तर त्यो कुरा अरु मुद्दाका हकमा किन देखिँदैन ? रवि लामिछानेजीका सन्दर्भका बारेमा मुद्दा दर्ता गर्ने पक्षको नियत पनि बुझ्न सकिन्छ । न्यायिक सक्रियता पनि चमत्कारिक छ । तर फेरि स्वभाविक रुपमा राजनीतिक रुपमा हेर्नेहरुले के हुन्छ ? सर्वोच्चको फैसलाको सम्मान गर्छन् । र राजनीतिक समाधान खोज्छन् । हामी त्यही बाटोबाट अगाडी बढ्छौँ ।’































प्रतिक्रिया