‘रविलाई मन्त्री बनाउँदा गैरसांसदले पनि आकांक्षा राख्न सक्छन्, अब पूर्णपाठ पर्खन्छौँ’

‘रविलाई मन्त्री बनाउँदा गैरसांसदले पनि आकांक्षा राख्न सक्छन्, अब पूर्णपाठ पर्खन्छौँ’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म नयाँ गृहमन्त्री नियुक्त नगर्ने भएका छन् । 

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सचिव गणेश साहले सभापति लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको पूर्ण पाठ नआउँदासम्म गृहमन्त्री नियुक्तिका बारेमा निर्णय नहुने बताएका हुन् । उनले त्यस बेलासम्म गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफूसँगै राख्ने स्पष्ट पारे । 

उनले भने, ‘उहाँ अहिले सांसद रहनुभएन । त्यसैले गैरसांसदलाई मन्त्री बनाउँदाखेरी अरुपनि गैरसांसदहरुको मन्त्री बन्ने इच्छाहरु व्यक्त हुनसक्छ । त्यसैले उहाँहरुको पूूर्णपाठ नआउन्जेलसम्म गृह मन्त्रालय प्रधानमन्त्रीजीले आफैँ हेर्नुहुन्छ ।’
 
सचिव साहले माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोजेको बताए । उनले संविधानको मर्म र भावनालाई पूरा गर्ने विश्वसनीय व्यक्तिलाई राष्ट्रपति बनाउन पार्टीले क्रियाशिलता अगाडी बढाएको स्पष्ट पारे । 

पदाधिकारी बैठकमा नेताहरुले कार्यविभाजन गर्दै तीन महिने कार्यक्रम लिएर जानुपर्ने सुझाव दिएका जानकारी दिए । माओवादी केन्द्रले बुधवार दिउँसो १ बजे स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीको बैठकले पार्टी संगठनको सम्बन्धमा ठोस निर्णय गर्नेछ । 

Logo