श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको छ ।
मंगलवार मन्त्रालयमा पत्रकारसम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयसँगको सहकार्यमा अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको बताएका छन् । उनले सबै नेपाली नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार भएकाले सोही अधिकार प्राप्तिको लागि अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको दाबी गरे ।
मन्त्री अर्यालले सोमवारदेखि लागू हुनेगरी कालो नम्बर प्लेट भएका सार्वजनिक सवारीलाई निर्वाधरुपमा सिंहदरबार छिर्न पाउने व्यवस्था गरिएको बताए । उनले अशक्त तथा फरक क्षमता भएका व्यक्तिलाई बोकेर सिंहदरबार छिर्ने सार्वजनिक सवारी अब सिंहदबारमा नरोकिने जानकारी दिए । आफ्नो छुट्टै सवारी साधन नभएका अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार छिर्न वञ्चित हुन नपर्ने बताए ।
मन्त्री आर्यालले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर राखिएको छुट्टै डेस्क हटाएको बताए । उनले अबदेखि विद्यार्थी भिसा, पर्यटन भिसा, व्यवसायिक भिसा र वैदेशिक रोजगारीको भिसामा जानेहरूको लाइन एउटै हुने बताए । सोमवारदेखि नै लागू हुनेगरी वैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्याइएको विभेदकारी डेस्क हटाएको उनले बताए ।
उनले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरी राखिएको डेस्कले विदेशमा रोजगारीका लागि जाने नेपालीहरुको आत्मबलमा ठेस पुगेको बताए ।
मन्त्री अर्यालले श्रम मन्त्रालयमा रहेको कल सेन्टरलाई नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित भएकाले समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने उद्देश्यले २४ घण्टा श्रम सहायता केन्द्रको रुपमा रुपान्तरण गरेको बताए । उनले श्रमिकका गुनासो र समस्या सुन्नको लागि ६ महिनाभित्र समाधान मोवाइल एप र श्रम सम्बन्धि सम्पूर्ण कार्यको टाइम कार्ड लागू गरिने बताए ।
श्रमसम्बन्धि आएका गुनासोहरु ६ महिना भित्र समाधान गर्ने गरी मन्त्रालय कार्ययोजना बनाएको मन्त्री अर्यालले बताए । उनले ६ महिनामा पनि समस्या समाधान नभए कारणसहित कर्मचारीहरुसँग जानकारी लिने बताए ।





























प्रतिक्रिया