काठमाडौं । पूर्व माओवादी खेमाका स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दबाब दिएका छन् । बिहीबार स्थायी कमिटीका पाँच जना पूर्र्व माओवादी खेमाका नेताहरुले अध्यक्ष दाहाल निवास खुमलटार पुगेर छलफल गर्दै ओलीसँग मिल्न दबाब दिएका हुन् ।
प्रचण्डलाई ओलीसँग मिल्न दबाब दिने स्थायी कमिटी सदस्यहरुमा टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, मणि थापा, चन्द्रप्रकाश खनाल र जनार्दन शर्मा रहेका छन् । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले केन्द्रबिन्दु अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै भने–‘हामीले पार्टी एकतालाई मजबुत बनाउन दुई अध्यक्ष मिल्नुपर्छ । सहमतिभन्दा अर्को विकल्प छैन भन्ने धारणा राखेका थियौँ । अध्यक्ष ज्यूले पनि हाम्रो धारणालाई सकारात्मक रुपमा लिनु भएको छ ।’
त्यस्तै उनीहरुले पूर्वमाओवादी केन्द्र पक्षका नेतालाई छोडेर पूर्व एमाले पक्षलाई साथ दिएको भन्दै प्रचण्डसँग गुनासो गरेका थिए । प्रचण्डले पूर्व माओवादीहरुलाई वेवास्था गर्दै वरिष्ठ नेता माधव नेपाल पक्षसँग नजिक भएकोप्रति उनीहरुको गुनासो छ । नेकपा विवाद वार कि पारको अवस्थामा पुगेको बेला पूर्व माओवादी खेमाका रायमाझी, पौडेल, गजुरेल, थापा, खनाल र शर्मा लगायतका नेताहरु प्रचण्डको साथ छोडेर ओली क्याम्पमा पुगेको आँकलन गरिएको छ । विभिन्न अड्कलबाजी भैरहेका बेला अहिलेसम्म पाँचै जनाले देखिने गरी ओली पक्षलाई साथ दिएका छैनन् । तर, सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग वाणिज्य तथा आफूर्ति मन्त्री लेखराज भट्ट, उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत अहिले ओलीले राजीनामा दिन नहुने पक्षमा उभिएका छन् । त्यसैले प्रचण्डले हिजोको भेटमा पार्टीभित्र मतभिन्नता जारी रहेको बेला पूर्व माओवादी समूह एक ठाउँमा उभिनुपर्ने धारणा राखेका थिए ।
त्यस्तैगरी उनीहरूले आगामी महाधिवेशनसम्म वरिष्ठ नेता माधव नेपालसँगको समिकरण भन्दापनि प्रधानमन्त्री ओलीसँग नै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । स्रोतका अनुसार उनीहरुसँगको भेटवार्तामा प्रचण्डले आफूले मिल्नका लागि पटक पटक अर्का अध्यक्ष ओलीसँग वार्ता गर्दै आएपनि उनी नै तयार नभएको बताएका थिए । विवादलाई साम्य पार्न पार्टीभित्रका अन्य नेताहरुसँग पनि परामर्श गरेर अगाडि बढ्नु पर्नेमा उनीहरुको सुझाव छ ।































प्रतिक्रिया