रोचक बन्दै राष्ट्रपतिको चुनावः पौडेल र नेम्वाङमा को बलियो ?

रोचक बन्दै राष्ट्रपतिको चुनावः पौडेल र नेम्वाङमा को बलियो ?

केन्द्रबिन्दु
0
Shares

लामो रस्साकस्सीपछि अन्तत: सभामुखमा दुई मुख्य ठुला दल नेपाली कांग्रेस र एमालेले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत उम्मेदवार बनाएको छ भने एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई। राष्ट्रपतिका लागि दुई ठूला दलले दुबै पूर्व सभामुखहरुलाई उभ्याउने निर्णय गरेसँगै राष्ट्रपतिको चुनाव रोचक हुने भएको छ । चुनावमा कसले मार्ला त बाजी ?

पौडेलको राजनीतिक यात्रा र सम्भावना 
पौडेल प्रजातान्त्रिक आन्दोलनमा लामो योगदान भएका राजनीतिक व्यक्तित्व हुन् । २०४८ सालदेखि तनहुँमा एकछत्र चुनाव जित्दै आएका पौडेल २०७४ मा भने एमाले नेता किसान श्रेष्ठसँग पराजित भएका थिए । सभामुख र पटक–पटक मन्त्री भएका पौडेल पार्टीभित्र अवसर नपाएका सादगी नेता मानिन्छन् ।पौडेलले पञ्चायती राजतन्त्रविरुद्ध संघर्षका क्रममा २०१९ देखि २०४६ सम्म गरी विभिन्न पटक १३ वर्ष जेल जीवन बिताएका छन् । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डसँगै प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएका पौडेललाई अहिले राष्ट्रपतिको उम्मेदवार बनाउन उनै प्रचण्डले एमालेसँगको गठबन्धन तोड्ने निर्णय गरका थिए । 

पौडेलका प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत नेता अब्दुल खान, जसपा नेता अशोक राई छन्। उनका समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे छन् ।

नेम्वाङको यात्रा र सम्भावना
राष्ट्रपतिका अर्का प्रत्यासी सुवास नेम्वाङ एमालेका उपाध्यक्ष छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ मन्त्री, पार्टीको मुख्य जिम्मेवारी र महत्वपूर्ण अवसर पाइरहने नेतामा पर्दछन् । ६९ वर्षका नेम्बाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका हुन्। प्राध्यापन र कानुन व्यवसायसमेत अँगालेका नेम्बाङले राजनीतिलाई अघि बढाएका हुन्। उनी इलाम—२ बाट २०५६ देखि लगातार निर्वाचित हुँदै आएका छन् । त्यसअघि उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए।उनी २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बने । त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री पनि भइसकेका छन् ।

नेम्बाङको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक छन्। उनको समर्थकमा एमालेकै योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन् । 

एमाले उम्मेदवार नेम्वाङलाई एमाले बाहेक अन्य दलको समर्थन जुटिसकेको छैन । सरकारबाट बाहिरिएको राप्रपा राष्ट्रपति निर्वाचनमा कसैको पनि समर्थक प्रस्तावक बसेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी लगायत केही दलको निर्णय आउन बाँकी छ।

राष्ट्रपतिमा निर्वाचित हुन कुल मतभार ५२ हजार ६ सय २८ मध्ये बहुमत अर्थात् २६ हजार ३ सय १५ मतभार ल्याउनुपर्छ । पौडेलको पक्षमा खुलेका आठ दलको ३१ हजार ९ सय १७ मतभार छ । एमालेको मतभार १५ हजार ३ सय १२ छ । अहिलेको मतभार गणित कायमै रहे उम्मेदवार पौडल निर्वाचित हुने लगभग पक्का छ । स्वतन्त्र सांसदको मतभार नजोडिएकोले रामचन्द्रको मत अझ बढ्ने देखिएको छ ।

Logo