चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ ।
निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आगामी वैशाख १० गतेको समय तोकिएको छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत गरी यही फागुन १ गतेदेखि १६ गतेसम्मका लागि मतदाता नामावली अद्यावधिक गराउन समय निर्धारण गरेको थियो ।
कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गतेका लागि तय गरिएको छ ।
सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट गत माघ १३ मा आदेश भएकाले उनको पद खारेज भएको थियो ।
नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भएबमोजिम उपनिर्वाचनको मिति तोकिएको हो ।





























प्रतिक्रिया