अध्यक्ष प्रचण्डको ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

अध्यक्ष प्रचण्डको ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानले ०६५ देखि ०७५ सम्म संविधानसभा र व्यवस्थापिका –संसदमा पूर्वप्रधानमन्त्री दाहालले सम्बोधन गरेका कुरालाई विभिन्न ४२ शीर्षकमा पुस्तकमा समेटेको छ । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले कोरोना भाइरसका कारणले पुस्तकलाई औपचारिकरूपमा सार्वजनिक नगरी बजारमा उपलब्ध गराइएको बताए।

उनले पुस्तकमा भएका सामग्रीका सन्दर्भमा कोभिड–१९ सहज भएपछि अन्तर्क्रिया गरिने जानकारी दिए। संसदीय राजनीतिलाई सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता विषयलाई संस्थागत गर्न सक्ने नेता दाहालले नयाँ संविधानको निर्माण गर्दा खेलेको भूमिका पुस्तकमा समेटिएको उनले बताए।

दुई सय ४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गरिएको घटना तथा सो संविधान अन्तर्गत रहेर स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचन गराउन भोगिएका परिघटना र सङ्घर्ष पुस्तकमा उल्लेख गरिएको छ ।

सत्तामा रहँदा प्रतिपक्षलाई सँगै लिएर हिँड्न सक्ने तथा प्रतिपक्षमा रहँदा सत्तापक्षसँग मिल्न सक्ने लचकदार एवं समय र परिस्थितिको तत्काल बोध गर्न सक्ने नेताका रूपमा दाहालले खेलेको भूमिका पुस्तकमा पाइन्छ । विभिन्न राजनीतिक शक्तिबीच भएका सङ्घर्ष तथा पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवं रुपान्तरणका अनेक प्रयास यसमा अभिलिखित छन् ।

पुस्तक प्रकाशनका निम्ति अहोरात्र खट्ने दलका नेता, कार्यकर्ता र सचिवालयका सम्पूर्ण सदस्यमा अध्यक्ष दाहालले धन्यवाद दिँदै पुस्तक प्रकाशनका निम्ति घच्घचाउने पत्रकार, बुद्धिजीवी र शुभेच्छुकमा कृतज्ञता पनि व्यक्त गरेका छन् ।रासस

Logo