आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ ।
निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिने जनाएको छ।
दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।
यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने कार्यक्रम तय भएको छ ।
उपराष्ट्रपति पदमा उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ ।
उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुनेपर्ने निर्वाचन आयोगलेको निर्देशन छ ।





























प्रतिक्रिया