पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकार अस्थिर हुने गरेकाले देशमा नीति निर्माणको काम प्रभावकारी रुपमा हुन नसकेको बताएका छन् ।
बिहीवार फोकस नेपाल संस्थाको १० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजना गरिएको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौतिहरु’ विषयक विचार गोष्ठिमा बोल्दै पूर्व मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सरकार अस्थिर भएको बताएका हुन् । उनले सरकार स्थिर हुन नसक्दा नीति निर्माणको काम हुन नसकेको बताए ।
सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने कुरा मात्रै प्राथमिकतामा परेको भन्दै दीर्घकालिन नितिगत सोच र कार्ययोजना ल्याउन नसकेको उनले बताए । उनले सरकारले दैनिक रुपमा गर्नुपर्ने प्रशासनिक कामभन्दा बाहेक अरु गर्न नसकेको बताए ।
पूर्व मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले वर्तमान सरकारलाई ‘वल्लो घरको नरे पल्लो घर सरे’ भन्ने उखानसँग तुलना गरे । ‘नीति, निर्माण र कार्यान्वयन सरकारले गर्ने हो । राज्यका अरु अवयवहरु सहायक हुन् । तर सरकार स्थिर हुन सकेको छैन । विगतदेखिको अनुभव यस्तै छ । सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने क्रियात्मक श्रृङ्खला प्राथमिकतामा परेको छ । ‘वल्लो घरको नरे पल्लो घर सरे’ भन्ने नेपाली उखान चरितार्थ हुँदैछ ।’ उनले भने ।































प्रतिक्रिया