संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सकारात्मक दृष्टिकोण र सोच राखेर काम गर्न सहसचिवहरुलाई निर्देशन दिएका छन्।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४४औँ वरिष्ठ कार्यकारी विकास तालिमको दीक्षित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
सकारात्मक दृष्टिकोण र सोच राखेर कार्यसम्पादन गर्दा परिणाम निस्किने बताउँदै मन्त्री मोदीले भने, ‘मुल रुपमा अहिले निजामती कर्मचारीहरुले सकारात्मक सोच र दृष्टिकोण राखेर काम गर्नुपर्ने अवस्था छ।’
मन्त्री मोदीले प्रविधिको उच्चतम विकासलाई ख्याल गरेर कार्यसम्पादनमा सुधार गर्न समेत निर्देशन दिए। समयअनुसारको निर्णय र आचरणमा सुधार गर्नुपर्ने पनि मन्त्री मोदीको भनाई थियो।
व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न पनि मन्त्री मोदीले निर्देशन दिएका छन्। ‘केही न केही परिवर्तन गर्नैपर्ने छ, तपाईंहरुले पनि नयाँ पुस्ताले सिक्न सक्ने कामहरु गर्न मेरो सुझाव छ, हामीबाट केही न केही सुधार गर्नुपर्ने भएकाले व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न म विशेष निर्देशन दिन चाहन्छु,’ उनले भने।
मन्त्री मोदीले सरुवामा व्यवस्थित प्रणालीको जरुरी भएकाले आफ्नो पालामा व्यवस्थित सरुवा प्रणालीको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकका छन्।
मुख्यसचिव शंकरदास बैरागीले मुलुक बदलिँदो परिवेशमा रहेको बताउँदै देशभित्र र बाहिरका असल अभ्यासबाट सिकेर काम गर्नुपर्ने बताए।
सरकारको नीति तथा कार्यक्रमलाई घरदैलोमा पुर्याउने काम कर्मचारीहरुको भएकाले जनतामा खस्किँदो दृष्टिकोणलाई बदल्ने चुनौती रहेको बताए। कार्यकारी निर्देशक डा. राजन खनालले आ-आफ्नो कार्यक्षेत्रमा अब्बलता सावित गर्न निर्देशन दिए ।































प्रतिक्रिया