दोस्रोपटक विश्वासको मत लिँदै प्रचण्ड, यी दलले दिँदैछन् पक्षमा मत

दोस्रोपटक विश्वासको मत लिँदै प्रचण्ड, यी दलले दिँदैछन् पक्षमा मत


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएको हो ।

पुस १० गते सात दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले गत पुस २६ गते विश्वासको मत लिएका थिए । तर बीचमा राष्ट्रपति निर्वाचनको विषयले उक्त गठबन्धन टुटेकाे थियाे । एमाले र राप्रपाले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छन् ।

नेकपा एमाले, राप्रपा, मजदुर किसान पार्टीका सांसद भने प्रतिपक्षमा छन् । एमालेसँग ७९, राप्रपासँग १४ र मजदुर किसान पार्टीसँग १ सांसद छन् । कांग्रेस, नेकपा एस, रास्वपा, लोसपालगायत दलले त प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय नै गरिसकेका छन् ।

सरकारलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले एक महिनाभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

अहिलेसम्म प्रधानमन्त्रीलाई माओवादी, कांग्रेस, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायतले विश्वासको मत दिने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मतका लागि १३८ सांसदले पक्षमा मतदान गर्नुपर्नेछ । अहिलेसम्म माओवादीका ३२, कांग्रेसका ८८, रास्वपाका १९, जसपाका १२, नेकपा एसका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, जनमोर्चाका १, नेसपाका १, आम जनताका १ सांसदले विश्वासको मत दिने सम्भावना छ ।

Logo