काठमाडौं ।
नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको महाधिवेशन प्रक्रिया आरम्भ भइसकेपछि नेता तथा कार्यकर्तामाथि विभिन्न बहानामा कारवाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन् ।
काठमाडौँमा उपलब्ध पार्टीका जिल्ला सभापतिहरुको सोमबार साँझ सम्पन्न बैठकले गत निर्वाचनको बेला बागी उम्मेदवार बन्ने, प्रस्तावक÷समर्थक बस्ने सबैजना विधानतः स्वतः पार्टीबाट बर्खास्त हुने प्रस्ट व्यवस्था हुँदा हुँदै हालै गरिएको कारवाही रोक्न माग गरेको हो ।
बैठकले स्थानीय तह पार्टी समायोजन सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले सिन्धुपाल्चोक लगायत जिल्लामा खेलेको भूमिकामा पार्टीको नीतिभन्दा नेता प्रभावको गन्ध देखिएको भन्दै निर्णय प्रक्रियामा पुनर्विचार गरी निष्पक्षता र तटस्थता कायम गर्न आग्रह गर्ने निर्णयसमेत गरेको छ ।
पार्टीको आगामी १४ औँ महाधिवेशनको सफलता र प्रभावकारितालाई सुनिश्चित गर्ने गरी सबै जिल्लाका जनता र स्थानीय सङ्गठनको तल्लो तहसम्म पार्टीको सैद्धान्तिक, वैचारिक, साङ्गठनिक र अग्रगामी नीतिनिर्माणको सवालमा अर्थपूर्ण संवादलाई तीव्रताका साथ अघि बढाउने बैठकले निर्णय गरेको छ ।
पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा पार्टीका विभाग वा समिति गठन गर्ने कार्य निर्वाचन आचारसंहिता, राजनीतिक नैतिकता र परम्पराविरुद्ध भएकाले यसबीच बनाइएका सबै विभाग र समिति खारेज गर्नुपर्ने निर्णय गरेको नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
पार्टीका जिल्ला सभापतिहरुको हेटौँडा, हलेसी र ककनी भेला तथा पार्टीको आठौँ महासमिति बैठकमा पार्टीको तल्लो तहबाट उठेका विषयलाई आगामी महाधिवेशनमा विधिवत् प्रस्तावका रूपमा अघि बढाउने बैठकले निर्णय गरेको उनले बताए ।
बैठकले पार्टीको १३ औँ महाधिवेशनमा सम्पूर्ण विधि÷प्रक्रिया पूरा गरी केन्द्रमा बुझाइएका सदस्यहरुको क्रियाशील सदस्यता तत्काल जिल्लामा पठाउनु पर्ने, अत्यावश्यक थप क्रियाशील सदस्यता पार्टी प्रणाली अनुसार पठाउने र कुनै बहानामा अन्य बाटोबाट क्रियाशील सदस्यता पठाएर निर्वाचनलाई प्रभावित गर्ने कार्य हुन नहुने कुरालाई सुनिश्चित गर्न आग्रह गरेको छ ।
पार्टीपार्टी बीचको एकीकरण, पार्टी समूह वा व्यक्तिको काँग्रेस प्रवेश कार्यलाई निष्ठावान् नेता र कार्यकर्ताको तेजोवध गर्ने, क्षणिक गुटगत फाइदाका लागि पार्टीलाई दीर्घकालीन क्षति पुर्याउने वा अन्य अभीष्ट पूरा गर्ने अपारदर्शी कदमका रूपमा अघि बढाउने काम नहोस् र एकदुई वा केही नेताको प्रवेशको आडमा सयौँ सङ्ख्यामा क्रियाशील सदस्यता पठाएर अनियमितता गर्ने काम नहोस् भन्नेतर्फ बैठकले नेतृत्वलाई सचेत गराएको छ ।
बैठकले जनताको आवाज बोल्ने र बोक्ने अभिप्रायले छायाँ सरकारको अभ्यास समेतमा उत्रिसकेको प्रमुख प्रतिपक्षी दल सौदाबाजी शक्तिका रूपमा देखिनु आत्मघाती हुने भन्दै त्यस्ता मनसाय वा भ्रमलाई चिर्दै सशक्त जनपक्षीय प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।रासस































प्रतिक्रिया