प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र सहमति जुटाएर आज नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
बिहीवार मन्त्री नियुक्त गर्ने तयारी भए पनि सहमति जुट्न नसक्दा शुक्रवारमा सरेको हाे । बिहीवार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत सत्तारुढ दलको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ ।
बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शुक्रवार मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएर शुक्रवार नै शपथको कार्यक्रम गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्तारुढ दलको बैठक सकिएपछि प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरूसँग छुट्टाछुट्टै समेत छलफल गरेका थिए । सत्ता साझेदार दलहरूबीच काँग्रेसले ८, माओवादी ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई १/१ मन्त्रालय लिने सहमति भएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतको सहभागिता रहेकाे थियो ।































प्रतिक्रिया